एमसीसी परियोजना छिटो शुरु गरौं : अर्थमन्त्री शर्मा


२२ चैत्र २०७८, मंगलवार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनु पर्ने बताएका छन् ।

सोमबार साँझ अर्थमन्त्री शर्माको नेतृत्वमा एमसिसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीको नेपालस्थित राष्ट्रिय निर्देशक (निमित्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल बैठक भएको थियो ।

बैठकमा अर्थमन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक बर्ष बाँकी रहेको देखिएकाले त्यति ढिला गर्न नहुने बताए । ‘एक वर्षे कार्यान्वयन अवधि मेरा लागि धेरै लामो समय भयो । हामी छिटो भन्दा छिटो काम शुरु गर्न चाहन्छौं । त्यसका लागि एमसिसीले पनि आवश्यक तयारी गरोस् भन्न चाहन्छु’ उनले भने ।

janardan sharma pravakar HV5JlQjukd

संसद्बाट अनुमोदन भएपछि एमसीसी र अर्थमन्त्री शर्माबीच पहिलो पटक बैठक भएको हो । त्यसक्रममा उनले एमसीसी अनुमोदन प्रक्रियामा केही समस्या देखिए पनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता पनि जनाए ।

‘एमसिसी आर्थिक परियोजना हो र यो चाँडै अगाडि बढ्छ भन्ने कुरामा आम नेपालीलाई विश्वास भइसकेको छ । त्यसैले अब एक वर्षभित्र कार्यान्वयन गर्ने भनेर समय तोक्ने होइन, जतिसक्दो छिटो परियोजना कार्यान्वयन गर्न थाल्नु पर्छ’ उनले भने ।
एमसीसी विशुद्ध आर्थिक परियोजना भएको विषयमा सरकार स्पष्ट भए पनि विभिन्न कारणले राजनीतिकरण भएको उनको भनाई थियो । धेरै समस्या र चुनौतीका बाबजुत एमसीसी स्वीकार गर्ने निणर्य भएको भन्दै उनले परियोजना कार्यान्वयनमार्फत नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएको बताए ।

सो क्रममा एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि बढाउन परियोजनाले सघाउने बताए । उनले एमसीसी अनुमोदनका लागि अर्थमन्त्रीले गरेको नेतृत्वका लागि धन्यवाद समेत दिए ।
‘परियोजना अनुमोदनका लागि तपाईले गरेको नेतृत्वदायी भूमिकाका लागि विशेष धन्यवाद दिन चाहन्छु । परियोजनाबाट धेरै राम्रा र ठूला काम गरेर देखाउनु पर्नेछ’ डेपुटी भाइस प्रेसिडेन्ट ब्रुक्सले भने । उनले परियोजनाको कार्यान्वयन छिटो भन्दा छिटो अगाडि बढोस् भन्ने आफूहरुको पनि चाहना भएको र नेपालको तयारी अनुसार नै छिट्टै काम अगाडि बढाउने प्रतिबद्धता जनाए ।

‘हामी पनि परियोजनाको काम छिटो भन्दा छिटो होस् भन्ने चाहन्छौं । यसका लागि एउटा मिति तोकेर व्यवहारिक रुपमा कार्यान्वयन अगाडि बढोस् भन्ने चाहन्छौं’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७