सहज बन्दै आँखाको नानी प्रत्यारोपण


२२ चैत्र २०७८, मंगलवार
eye operation2022 04 05 06 09 29

काठमाडौं । ११ वर्षको उमेरमा विद्यालय जान सुरु गरेका स्याङ्जाका सविन बोगटी अहिले स्नातक पढ्दै छन् । सानैदेखि कर्नियाको समस्याका कारण दृष्टि गुमाएका उनी १० वर्षको उमेरमा आँखा प्रत्यारोपण गरेपछि मात्रै विद्यालय जान सुरु गरेका थिए । आँखा नदेख्ने समस्याका कारण समयमा विद्यालय जान नपाएका बोगटीले दान गरिएको कर्निया प्रत्यारोपणबाट दृष्टि पाएका हुन् ।

बच्चैदेखि दृष्टि गुमाएका बोगटीको तीन वर्ष लगातार अस्पताल बसाइपछि आँखा प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणका लागि कर्निया पाइए पनि चिकित्सकहरूले शल्यक्रियापछि सफल हुने सम्भावना न्यून रहेको बताएका थिए । तर, शल्यक्रियापछि उनको आँखामा कुनै समस्या देखिएन ।

आँखा नदेख्ने समस्याका कारण खाना खान, हिँड्न, बस्न परिवारका सदस्यको सहयोग लिनुपर्ने भएकाले बाल्यकाल सजिलो थिएन । परिवारका सदस्यले माया गर्ने भए पनि बाहिर सबैले हेला गर्ने गरेको सुनाउँछन् बोगटी । उनी भन्छन्, ‘मलाई साथीले रङहरूको कुरा गर्दा अनौठो लाग्थ्यो । त्यतिवेला आँखा नपाएको भए जिन्दगी कस्तो हुन्थ्यो अनुमान पनि गर्न सक्दिनँ ।’

दुवै आँखामा जन्मजात समस्या, भिटामिन ए डिफिएन्सी, चोटपटक र संक्रमणजस्ता विभिन्न कारणबाट दृष्टिमा हुने समस्याका लागि कर्निया प्रत्यारोपण मुख्य समाधान बन्न थालेको छ । ‘नेपाल आँखा बैंक’का अनुसार बर्सेनि पाँच सयदेखि १३ सयभन्दा बढी आँखाको नानी प्रत्यारोपण हुने गरेका छन् ।

सामान्यतया व्यक्तिको मृत्यु भएपछि १४ घन्टाको अवधिसम्म प्रत्यारोपण गर्न मिल्ने भएकाले कर्निया प्रत्यारोपण अन्य अंग प्रत्यारोपणको तुलनामा सहज बन्दै गएको आँखा विशेषज्ञहरू बताउँछन् । कर्नियामा रक्तसञ्चार नहुने, जुनसुकै उमेर समूह र स्वस्थ अवस्था भएको व्यक्तिबाट लिइएको कर्निया अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्ने भएकाले समेत प्रत्यारोपणको संख्या धेरै रहेको तिलगंगा आँखा अस्पतालकी प्रत्यारोपण विशेषज्ञ डा. लिना बज्राचार्य बताउँछिन् ।

नेपालमा आँखा प्रत्यारोपणले छोटो समयमै ठ्लो फड्को मारेको छ
०५१ देखि नेपालमा सुरु भएको आँखा प्रत्यारोपणले छोटो समयमै ठ्लो फड्को मारेको छ । पहिलोपटक ३ मंसिर ०५१ मा काठमाडौं ढोकाटोलकी चिनीमाया तुलाधरले आँखाको नानी दान गरेसँगै कर्निया प्रत्यारोपण थालिएको थियो ।

त्यसयता हालसम्म ११ हजार नौ सय ७८ जनाले आँखाको नानी (कर्निया) दान गरिसकेका छन् । नेपाल आँखा बैंकका अनुसार सुरुवाती वर्षमा दुई वटा आँखाको नानी मात्र दान गरिएको थियो । त्यसयता सबैभन्दा धेरै सन् २०१९ मा आँखाको कर्निया दान गरिएको थियो । एक वर्षमा मात्रै एक हजार तीन सय ४८ कर्निया आँखा बैंकमा उपलब्ध भएका थिए । तर, कोभिड महामारीको सुरुसँगै आँखा बैंकमा कर्निया संकलन र प्रत्यारोपण दुवैमा कमी आएको छ । सन् २०२० मा ६ सय २५ वटा मात्रै आँखाको नानी संकलन भएका थिए । २०२१ मा आठ सय एक र यो वर्ष ९३ वटा आँखाको नानी दानमार्फत प्राप्त भएको आँखा बैंकको तथ्यांक छ ।

हाल देशभर तिलगंगा आँखा अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका १० वटा आँखा अस्पतालले आँखाको प्रत्यारोपण गर्दै आएका छन् । पछिल्लो समय मृत्युपछि आँखा दान गर्ने संस्कृति बढ्दै गएकाले माग सहज बन्दै गएको चिकित्सकहरू बताउँछन् । आँखारोग विशेषज्ञ डा. रीता गुरुङ भन्छिन्, ‘सुरुवातमा आँखाको नानी दान गर्नेको संख्या निकै कम थियो, बिस्तारै आँखा दान गर्नेको संख्या बढ्दै गइरहेकाले प्रत्यारोपणका लागि लामो समयसम्म कुर्नुपर्ने अवस्था घट्दै गएको छ ।’

प्रत्यारोपण फेल हुने दर न्यून
कर्नियामा हुने समस्या अन्धोपन (मोतियाबिन्दु)पछिको मुख्य कारणमध्येमा पर्ने गर्छ । डा. बज्राचार्यका अनुसार नेपालमा कर्निया प्रत्यारोपण ५२ देखि ९३ प्रतिशतसम्म सफल भएको देखिन्छ । उनका अनुसार अंग लिने व्यक्तिको स्वास्थ्य अवस्थाका आधारमा प्रत्यारोपणपछि जुनसुकै समयमा पनि ‘रिजेक्सन’ हुने सम्भावना रहन्छन् ।

‘प्रत्यारोपण गरेको दशौँ वर्षपछि पनि तन्तुहरूको रियाक्सनका कारण रिजेक्सनको सम्भावना रहन्छ । यसका लागि शल्यक्रिया गरेको एक वर्षको अवधिमा एक-एक महिना र बिस्तारै दुईदेखि ६ महिनाको अन्तरालमा आँखाको नियमित परीक्षण गर्नुपर्ने हुन्छ,’ उनी भन्छिन् ।

प्रत्यारोपणपछि स्टेरोइड औषधि प्रयोगमा ल्याइने गरिन्छ, जसले शरीरको प्रतिरोधी क्षमता कम गर्ने भएकाले संक्रमणको प्रबल सम्भावना रहने डा. गुरुङ बताउँछिन् । ‘शल्यक्रियाको क्रममा लगाइएका टाँकाहरू खोल्न एक वर्षसम्म लाग्ने भएकाले उपचारको प्रक्रिया लामो हुँदा सँगै जोखिम पनि रहने भएकाले प्रत्यारोपण सबै व्यक्तिमा सफल हुन्छ भन्ने हुँदैन । तसर्थ बिरामी सधैँ उपचारका लागि तयारी अवस्थामा रहनुपर्छ,’ उनले भनिन् ।

आँखाको नानी संकलनको तुलनामा प्रयोग न्यून
आँखाको नानी प्रत्यारोपणका लागि अस्पताल र व्यक्तिको स्वेच्छाअनुसार संकलन गरिँदै आइएको छ । तर, संकलन गरिएका सबै आँखाको नानी प्रत्यारोपण भने हुँदैनन् । नेपालमा आँखा दान सुरु भएयता संकलन भएका ११ हजार नौ सय ७८ नानीमध्ये ६ हजार दुई सय ५९ वटा मात्रै प्रत्यारोपण भएको तथ्यांक छ ।

स्वास्थ्य परीक्षणविना संकलन गरिने हुँदा स्वस्थ कर्नियाको संख्या न्यून हुने नेपाल आँखा बैंकका व्यवस्थापक शंख त्वयनाले बताए । उनका अनुसार संक्रमणका कारण संकलन गरिएका सबै आँखाको नानी प्रत्यारोपणका लागि उपयुक्त हुँदैनन् । कतिपय संकलन गरिएका आँखाका नानी समयमा प्रत्यारोपण गर्न नसक्दा समेत खेर जाने गर्दछन् ।

नेपालमा यो वर्ष संकलन भएका ९३ वटा कर्नियामध्ये ९० वटा प्रयोगमा आएका छन् । कोभिडका कारण शल्यक्रियाबाट वञ्चित रहेकाको संख्या धेरै भएका कारण प्रत्यारोपणको दर उच्च रहेको चिकित्सकहरू बताउँछन् । गत वर्ष आठ सय एक उपलब्ध कर्नियामध्ये सात सय ११ वटा मात्रै प्रत्यारोपण भएको तथ्यांक छ ।

सन् २०२० मा संकलन भएका पाँच सय २५ मध्ये पाँच सय दुई, २०१९ मा उपलब्ध एक हजार तीन सय ८४ मध्ये एक हजार एक सय पाँच र २०१८ मा उपलब्ध एक हजार एक सय ७८ मध्ये एक हजार २४ आँखाको नानी मात्रै प्रत्यारोपण भएका छन् । तर, संकलन भएको संख्याको आधारमा प्रत्यारोपणका लागि योग्य हुने संख्यामा पछिल्ला वर्ष सुधार आइरहेको आँखा बैंकका प्राविधिकहरू बताउँछन् ।

आँखा बैंकको तथ्यांकअनुसार २०१७ मा आठ सय ६१ संकलित कर्नियामध्ये सात सय ५९ कर्निया मात्र प्रत्यारोपण भएका थिए । यो संख्या अघिल्ला वर्षमा झन् न्यून रहेको देखिन्छ । २०१६ मा संकलित सात सय ११ मध्ये ६ सय २३ कर्निया र २०१५ मा ६ सय एक संकलित कर्नियामध्ये चार सय ७७ प्रत्यारोपणका लागि उपयुक्त थिए ।

आँखाको नानी संकलनको तुलनामा प्रयोग न्यून
नेपालमा आँखा दान सुरु भएयता संकलन भएका ११ हजार नौ सय ७८ नानीमध्ये ६ हजार दुई सय ५९ वटा मात्रै प्रत्यारोपण भएको तथ्यांक छ । कतिपय संकलन गरिएका आँखाका नानी समयमा प्रत्यारोपण गर्न नसक्दासमेत खेर जाने गर्दछन् ।

नेपालमा यो वर्ष संकलन भएका ९३ वटा कर्नियामध्ये ९० वटा प्रयोगमा आएका छन् । कोभिडका कारण शल्यक्रियाबाट वञ्चित रहेकाको संख्या धेरै भएका कारण प्रत्यारोपणको दर उच्च रहेको चिकित्सकहरू बताउँछन् । गत वर्ष आठ सय एक उपलब्ध कर्नियामध्ये सात सय ११ वटा मात्रै प्रत्यारोपण भएको तथ्यांक छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७