प्रदेश-१ सरकारद्वारा योजना आयोगका पदाधिकारी नियुक्त


२२ चैत्र २०७८, मंगलवार
Purna Loksom1649088013

मोरङ । प्रदेश-१ को हिजो राति अबेरसम्म चलेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गर्नेसहित यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ ।

प्रदेश-१ सरकारका नव नियुक्त प्रवक्ता घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षलगायत सदस्यहरूको नियुक्ति गर्ने निणर्य गरेको छ । बैठकले पाँचथरका डा. पूर्ण लोक्सोमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए ।

त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की (सङ्खुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अञ्जु खड्का (मोरङ) लाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री घिमिरेले बताए । त्यस्तै बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिवलाई हटाउने निर्णय गरेको छ ।

सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय भएको छ । बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेशन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७