ट्वीटरका चर्का आलोचक मस्क बने ट्वीटरकै ठूलो शेयर लगानीकर्ता


२२ चैत्र २०७८, मंगलवार
Elon musk twitter bcFc7JfViG

काठमाडौं । अर्बपति इलोन मस्कले ट्वीटरको शेयर खरिद गरेका छन् । सीएनएनका अनुसार चर्चित सामाजिक सञ्जाल ट्वीटरको ९.२ प्रतिशत शेयर खरिद गर्दै मस्क कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ता बनेका हुन् ।

मस्कले शेयर खरिद गरेको समाचारसँगै ट्वीटरको शेयर शुरुवाती कारोबारमा २२ प्रतिशतले बढेको बताइएको छ । यद्यपि मस्कले शेयरको लागि के भुक्तानी गरे भन्ने चाहिँ खुलाएका छैनन् । तर उनको शेयर दुई अर्ब ९० करोड अमेरिकी डलर बढीको भएको बताइएको छ । शुक्रबार उनले खरिद गर्दा त्यति मूल्य बराबर भए पनि सोमबार बढेपछि त्यो साढे तीन अर्ब अमेरिकी डलरको भएको छ ।

शेयर खरिदको उद्देश्यबारे पनि थप केही जानकारी प्राप्त भएको छैन । उनी बारम्बार ट्वीटरको चर्को आलोचक रहँदै आएका छन् । गत महिना मात्रै उनले ट्वीटरको आलोचना गरेका थिए । यसको बदला नयाँ सामाजिक सञ्जाल ल्याउनेबारे ट्वीट गरेका थिए ।

जुनसुकै बेला लगानीकर्ताले कम्पनीको पाँच प्रतिशत शेयर वा त्योभन्दा धेरै खरिद गर्दा सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनलाई विवरण खुलाउनु पर्ने हुन्छ । तर मस्कले भने खुलाएका छैनन् । प्रविधि विश्लेषकहरुले भने मस्कले ट्वीटरलाई परिवर्तन गराउन चाहेको हुनसक्ने बताएका छन् । ट्वीटरको बोर्ड र मेनेजमेन्ट टिममा यसबारे छलफल थाल्न उनले गरेको लगानी एक प्रहारका रुपमा रहेको हुनसक्ने विश्लेषकहरुको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७