मनाङमा अझै शुरु भएन निर्वाचनको चहलपहल, सुनसान छन् गाउँ


२२ चैत्र २०७८, मंगलवार
manang

मनाङ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै देशभर गाउँदेखि शहरसम्म चुनावी चहलपहल बढे पनि मनाङमा भने चुनावी सरगर्मी छैन ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले उम्मेदवार छनौट गरिरहेका छन् । तर हिमाली जिल्ला मनाङमा भने चुनावी गतिविधिहरू नबढ्दा उम्मेदवार छान्ने काम पनि हुन सकेको छैन ।

जिल्लावासी जाडो छल्न बेंसी झरेकाले पनि मनाङमा चुनावी चहलपहल सुरु हुन नसकेको हो । चैतको दोस्रो सातापछि मनाङका स्थानीय विस्तारै गाउँ फर्कने गर्दछन् । गर्मी बढेसँगै जिल्लावासी मनाङ फर्कन थालेपछि चुनावी प्रचारप्रसार बढ्ने अपेक्षा निर्वाचन कार्यालयले गरेको छ ।

जिल्लाका नेताहरू अहिले गाउँ पुगेका छैनन् । धेरैजसो मतदाता पनि जिल्ला बाहिर रहेकाले पनि नेताहरू जिल्लामा नपुगेको आँकलन गर्न सकिन्छ । जिल्लाका राजनीतिक दलका नेताहरू गाउँ नपुगे पनि निर्वाचन कार्यालयले भने निर्वाचनसम्बन्धी आवश्यक काम गरिरहेको छ ।

माथिल्लो मनाङमा चुनावी माहोल नबनेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले बताउँछन् । ‘अब नेताहरू आउनु हुन्छ होला, विस्तारै तात्ने बेला हुन लागेको छ,’ उनले भने । मनाङबासी चिसो छल्न काठमाडौँ-पोखरासहितका ठाउँमा जान्छन् ।

बाहिर गएका स्थानीयवासी विस्तारै फर्किन थालेका छन् । नार्पाभूमिका गाउँ पनि अहिले सुनसान छन् । स्थानीयसँगै केही जनप्रतिनिधि र कर्मचारी पनि फर्किन बाँकी नै छ । गाउँपालिका अध्यक्ष मिङ्माछिरिङ लामाका अनुसार बाहिर रहेका गाउँपालिकाका बासिन्दा फर्किएका छैनन् ।

चुनावको लागि दलहरु सक्रिय नभए पनि निर्वाचन कार्यालयले तयारी गरिरहेको छ । स्थानीय तह निर्वाचनका लागि मनाङमा २०० कर्मचारी खटाउने निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका दलको दर्तादेखि स्थानीय तहहरूसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायत काम भइरहेको छ ।

निर्वाचन आयोगले मनाङ जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाललाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । खनाललाई सदरमुकाम चामे गाउँपालिका जिम्मेवारी दिएको छ ।

निर्वाचन आयोगले मनाङको नासो गाउँपालिकामा जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडु, नार्पाभूमि गाउँपालिकामा सरकारी वकिल कार्यालयका दिनेशकुमार रेग्मी र मनाङ ङिस्याङ गाउँपालिकामा सरकारी वकिल कार्यालयका केदारनाथ उपाध्यायलाई निर्वाचन अधिकृत तोकेको छ ।

दलहरूले चुनावी तयारी गरिरहँदा निर्वाचन कार्यालयले पनि आफ्ना कामअघि बढाएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । आगामी स्थानीय तहको निर्वाचनका लागि मनाङमा छ वटा मान्यता प्राप्त दलबाहेक पाँच वटा दल दर्ता भएका छन् । मनाङमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा समाजवादी पार्टी, सामाजिक एकता पार्टी र उन्नत लोकतान्त्रिक पार्टी दर्ता भएका निर्वाचन अधिकारी शर्माले जानकारी दिए ।

जिल्लामा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रूपमा सक्रिय छन् । तीमध्येका अधिकांश दलले चुनावी अभियानको थालनी गर्दैछन् ।

२८ वटा मतदान केन्द्र
निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मनाङमा कूल ६ हजार ४९६ मतदाता छन् । ती मतदातामध्ये तीन हजार ३४८ महिला र तीन हजार १४८ पुरुष रहेको निर्वाचन कार्यालयले जनाएको छ । मनाङ नेपालको सबैभन्दा कम मतदाता रहेको जिल्ला हो ।

विकट र थोरै जनसंख्या रहेकाले मनाङमा माग भएभन्दा कम मात्रले म्यादी प्रहरीमा आवेदन दिएका छन्। जिल्लामा निर्वाचनका निम्ति २५८ म्यादी प्रहरीको माग गरिएकामा तोकिएको समयसम्म परेको आवेदनले माग पूर्ति नभएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । सो कार्यालयका अनुसार १४८ आवेदन मात्र परेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७