सरकार बनाउन मात्र होइन, दीर्घशान्तिका लागि गठबन्धन : गृहमन्त्री खाँण


२२ चैत्र २०७८, मंगलवार
balkrishna khand

तनहुँ । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिका लागि भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौं तनहुँ महोत्सवको सोमबार समापन गर्दै उनले गठबन्धनको उपलब्धि सरकार बनाउनु मात्र नभई संविधान रक्षाका लागि भएको जिकिर गरेका हुन् ।

गृहमन्त्री खाँणले लोकतान्त्रिक प्रणालीमा प्रहार भएपछि अहिलेको गठबन्धन बनेको बताए। उनले भने, ‘संविधान बचाउन गठबन्धन गरिएको हो, सरकार प्राप्तिका लागि मात्र होइन। मुलुकको विकास र शान्तिका लागि हो ।’

गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकार गम्भीर रहेको बताए । सीमित स्रोत र साधनका बाबजुद सुरक्षा निकायले गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उनको भनाइ छ ।

उद्योगी व्यवसायीको संरक्षणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाँणले भने, ‘उद्योगीको सुरक्षाका लागि गम्भीर र संवेदनशील छौं । रोजगारी वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन व्यवसायी गतिशिल बन्नुपर्छ । जनतालाई सम्पन्न र सरकारलाई सक्षम बनाउन उद्योगी व्यवसायीको भूमिका छ ।’

गृहमन्त्री खाँणले तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको विकासका लागि योगदान पुर्याएको चर्चा गर्दै भने, ‘भानुभक्त आचार्य नजन्मिएको भए नेपाली भाषाले यो उचाई प्राप्त गर्ने थिएन ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७