स्थानीय तह निर्वाचन : तत्कालै उम्मेदवार टुङ्गो नगर्न कांग्रेसको सर्कुलर


२२ चैत्र २०७८, मंगलवार
Congress scaled

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तत्काल उम्मेदवारको टुंगो नलगाउन मातहतका कार्य समितिहरुलाई सर्कुलर पठाएको छ ।

बैसाख ३० को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पार्टीका वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले छलफल अगाडि बढाइरहेका बेला कांग्रेसले मौखिक रुपमा सर्कुलर गरेको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपाले उम्मेदवार सिफारिससम्बन्धी कामहरु तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले जानकारी दिएका छन् ।

‘अहिलेसम्म जे जति काम भएको छ त्यसलाई अहिले होल्ड राख्न केन्द्रीय कार्यालयबाट टेलिफोनमा भनिएको छ,’ उनले भने । यसअघि उपसभापति पूणर्बहादुर खड्का संयोजकत्वको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मातहतलाई परिपत्र गरेर उम्मेदवार टुंग्याउने समयावधि तोकेको थियो ।

जसअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिइएको थियो । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७