नागढुङगा-मुग्लिन सडक निर्माण वैशाखदमा शुरु हुने


२२ चैत्र २०७८, मंगलवार
mugling

काठमाडौं । काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा-मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ । सो सडक वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने गरी तयारी भएको छ ।

सो सडकमा तीन प्याकेजमा काम हुन लागेको बताइएको छ । तीन प्याकेजमध्ये अहिले नागढुङ्गा-नौबिसे र नौबिसे-मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुङ्गा-नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए । यससँगै अहिले परामर्शदाताको पनि छनौट गर्ने प्रक्रिया अघि बढाइएको छ । नागढुङ्गा-नौबिसे सडकको लम्बाई १२ किमी र नौबिसे-मलेखु साढे ४३ किमी हो । उनले भने, ‘दुबै सडकको निर्माण सँगसँगै अघि बढाइनेछ ।’

नागढुङ्गाबाट-नौबिसे र नौबिसे-मलेखु दुई प्याकेजका लागि हाल ठेक्का प्रक्रिया सुरु भएको छ । यसका लागि नेपाली र अन्तरराष्ट्रिय दुबै निर्माण कम्पनीले आबेदन हालेका छन् । नागढुङगाबाट नौबिसे सडक दुई वर्षमा र नौबिसे मलेखु सडक तीन वर्षमा सम्पन्न गरिने प्रमुख कार्कीले बताए । तेस्रो ठेक्काका रुपमा रहेको मलेखुबाट मुग्लिनसम्मको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरी तयारी भएको प्रमुख कार्कीले बताए । ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैङ्कलाई पठाएको थियो । उनले भने, ‘अहिले विश्व बैङ्कले त्यसमा अध्ययन गरिरहेको छ, सकिएपछि ठेक्कामा जान सकिन्छ ।’

हाल प्रक्रियामा रहेका दुई ठेक्का वैशाख १५ सम्ममा प्रक्रियामा जानसक्ने प्रमुख कार्कीले बताए । ठेक्का सम्झौता पहिले कसैको गुनासोका लागि आशयपत्र निकालिएको छ । त्यो नभएपछि सम्झौता गर्न सकिने उनले बताए । अबको केही समयमा नै वैदेशिक सहायता समन्वय महाशाखाले सम्झौता गर्ने उनले बताए ।

सडक अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भएपनि बजार ठाउँमा चार लेन हुनेछ । विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेन मात्रै पनि हुनसक्ने प्रमुख कार्कीले बताए । सडक विभागले यस अघि नै मुग्लिन-नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ-बुटवल सडक निर्माणाधीन छ । यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुङ्गा-मुग्लिन सडक कम चौडाइमा निर्माण हुने योजनाले जनाएको छ । यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताउनुभयो । बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि पहाडी क्षेत्रमा दुई लेनमा नै निर्माण गरिनेछ । मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ ।

सडकमा निर्माणको काम गर्दा सवारी व्यवस्थापन चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ । बैकल्पिक सडक नहुँदा सवारीसधन अर्कोतर्फ मोड्न (डाइभर्ट) गर्न सकिने छैन । सवारीसाधन एकातर्फीरुपमा सञ्चालन गरेर अर्का तर्फबाट निर्माणको काम गरिने प्रमुख कार्कीले बताए । सडक निर्माणका क्रममा सकेसम्म नागरिकलाई कम दुःख परोस भनेर ध्यान दिइने उनले बताए । उनले भने, ‘बुटवाल-नारायणघाट सडक बनाउँदा नागरिकले दुःख पाएकाले यहाँ सकेसम्म व्यवस्थापन गर्न लागिनेछ ।’ सडक विस्तारका लागि वर्षामा पहाड खन्ने काम नगर्ने प्रमुख कार्कीले बताए ।

आयोजना सडक निर्माणका लागि जग्गा प्राप्तीको काममा विगत छ महिनादेखि लागेको छ । निर्माणस्थलमा केही घरटहरा रहेकामा तीनलाई क्षतिपूर्ति दिएर हटाउन लागिएको छ । बन कटानका लागि प्रक्रिया अघि बढाइएको छ र मन्त्रीपरिषद्बाट निणर्य आएपछि ठेक्का लागेपछि हटाइनेछ । उनले भने, ‘कटानको स्विकृति भएपछि ठेक्काबाट निर्माणस्थलमा रहेका रुख हटाइनेछ ।’

नागढुङ्गा चेक प्वाइन्टबाट शुरु भएर चितवानको मलेखुसम्मको सडकले काठमाडौँ, धादिङ र चितवन गरी तीन जिल्लालाई समेट्छ । यो सडकमा विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ । सबैभन्दा बढी सवारीसाधन भित्रने र बाहिरिने नाका भएकाले सडक सुरक्षाका लागि आवश्यक कुराको निर्माणमा ध्यान दिइनेछ छ र मोड सुधार गर्ने, पुल थपिनेलगायतका काम गरिनेछ ।
यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झण्डै १० देखि ११ मिटरसम्म हुनेछ । ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ । यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७