निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धता पत्रमा एमालेले गरेन हस्ताक्षर


२२ चैत्र २०७८, मंगलवार
kp oli 3

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गर्ने भनिएको आचारसंहितामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ ।

आयोगले जारी गर्न लागेको आचारसंहितासम्बन्धी प्रतिवद्धता पत्रलाई लिएर साना दलहरुले चर्को विरोध गरेपछि अवस्था तनावपूणर् भएको भन्दै एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको हो । आयोगले आचारसिंहताबारेमा राजनीतिक दलहरूबाट प्राप्त सुझाव समेटी राजपत्रमा प्रकाशित गर्नका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षरका लागि दलहरूलाई मंगलबार बोलाएको थियो ।

आचारसंहिता आयोगले राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरूलाई हस्ताक्षर गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।
पौडेलले सबै दललाई हस्ताक्षर गराउन बोलाइएको बताए । तर नेपाल मजदुर किसान पार्टीसहितले आफूहरुसँग छलफल नगरी जारी गर्न लागिएको आचारसंहिता अस्वीकार्य हुने भन्दै आयोगको बैठक हलमै नाराबाजी गरेका थिए ।

तर बैठकमा साना दलको पनि आपत्ति रहेको भन्दै एमालेले आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर नगरेको हो । आयोगमा छलफलका लागि मंगलबार एमालेले कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्यलाई पठाएको थियो । कानुन विभाग प्रमुख बडालले आयोगको बैठक हलमै साना दलको आपत्ति र नाराबाजीपछि तनावपूणर् अवस्था बनेकाले प्रतिवद्धता पत्रमा हस्ताक्षर नगरिएको बताएका छन् ।

‘आयोगको बैठकमै अन्य दलको आपत्तिपछि तनाव उत्पन्न भयो । त्यस्तो बेला कुनै निणर्य लिनु उचित हुँदैन’, उनले भने, ‘त्यही कारण आचारसंहिताको प्रतिवद्धता पत्रमा हामीले हस्ताक्षर नगर्ने निणर्य लिएका हौँ । आयोगले अन्य दललाई पनि मनाएर उचित वातावरणमा छलफल गरेपछि हामी निणर्य लिन्छौं । साना दलको पनि विचारलाई सम्बोधन गरेर आयोग अघि बढ्नु उचित हुन्छ ।’ आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ वटा राजनीतिक दलहरूसँग मंगलवार निर्वाचन आचारसंहिता छलफल गरेको थियो ।

बैठकको शुरुमै आचारसंहिता पालना गर्न प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेपछि केही दलले छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताबारे प्रष्ट पारेपछि दलहरु असन्तुष्टिबीच हस्ताक्षर गर्न तयार भएका थिए ।

नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न पार्टी पूणर् रुपमा प्रतिवद्ध रहेको बताए । आचारसंहिता अक्षरश पालना गरिने उनले बताए। नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न तयार रहेको बताए । पूर्ण रुपमा आचारसंहिता पालना गर्ने प्रतिवद्धतासहित हस्ताक्षर गरिएको उनले बताए ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरुले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरुले गुनासो राखेको बताए । निर्वाचनको समयमा गाडी, मोटरसाइकल र्‍याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचार प्रसार गर्न आचारसंहिताले नदिए पनि आचारसंहिताविपरीत दलहरुले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने उठाएको बताए ।

उनले दलहरुबीचमा चुनावी गठबन्धन हुनु सिद्धान्तविपरित र मतदाताको खरिद विक्री जस्तो भएको टिप्पणी पनि गरेका छन् । नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले निर्वाचन आयोगले साना दलहरूलाई हेपाहा प्रवृत्ति देखाएको बताए । आयोगले गर्ने छलफलहरूमा साना दलहरूलाई सहभागी नगराउने गरेको उनले बताए । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरुले गरेको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७