सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

खुम्बुमा बाह्य पर्यटकको चहलपहल


२६ चैत्र २०७८, शनिबार
sagarmatha 1

काठमाडौं । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अनुसार छ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भर्‍याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन् ।

दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्याहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाअध्यक्ष लामाकाजी शेर्पाले बताए । एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म जान पाउँछन् । आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने भएको छ ।

यस पटक आधार शिविरदेखि दोस्रो शिविरसम्म १५ वटा भर्‍याङ प्रयोग गरिएको उनले जानकारी दिए । यसअघि सन् २०१८ मा ३२ वटा भर्‍याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको थियो । दोस्रो शिविरसम्मको बाटो प्रयोग गरेर सगरमाथासहित ल्होत्से र नुप्त्से हिमाल पनि आरोहण गरिन्छ । आधार शिविरमा हरेक समूहले बौद्ध परम्पराअनुसार पूजापाठ गरी हिमालमा कुल्चनुअघि क्षमापूजा र शक्ति माग्ने प्रचलन रहेको छ ।
खुम्बुमा बाह्य पर्यटकको चहलपहल

पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम बढेको छ । वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको संख्यामा वृद्धि हुँदै गएको हो । खुम्बु क्षेत्रमा पछिल्लो एक हप्तामा ९०० भन्दा बढी बाह्य पर्यटक भित्रिएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ । अहिले लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाका कर्मचारी खुमप्रसाद पौडलले बताए ।

लुक्लामा दैनिक ४५ वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका छन् । एकै दिनमा १४ वटा जहाजमार्फत २६६ र ४५ वटा हेलिकोप्टर मार्फत २२५ सम्म पर्यटक खुम्बु भित्रिने गरेको उनको भनाइ थियो । अहिले भित्रने यात्रुको चाप बढी र फर्कने यात्रु शून्य जस्तै हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७