स्वास्थ्य, पर्यावरण संरक्षणका लागि साइकल उपयोगी : प्रचण्ड


२६ चैत्र २०७८, शनिबार
RS KTM 008A9176 scaled

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन् । प्रज्ञा-स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको चर्चा गरेका हुन् ।

यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, ‘देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ ।’ खेलकुदमन्त्रीको समेत उपस्थिति रहेको कार्यक्रमले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै छ उनले सहभागी सबैलाई शुभकामना व्यक्त गरे ।

cycle

अध्यक्ष दाहालले आज बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गरेका हुन् । प्रतियोगिता संयोजक शन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताए । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् ।

प्रथम हुने १९ वर्षमाथिका महिला तथा पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्षमाथिको विधामा रु २५ हजार, ५० वर्षमाथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला तथा पुरुषलाई रु २०/२० हजारका दरले पुरस्कार रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १०औं स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । भरतपुर महानगरमा निर्माणाधीन रिङ्रोडसहित सडक आयोजना साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमा समेत टेवा पुर्‍याउने उद्देश्यले साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ थियो ।

करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दूरी पार गर्नुपर्ने व्यवस्था गरिएको छ । नारायणी नदी तीरबाट सुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, र्‍यालीसहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ । क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विजेता खेलाडीलाई नगदपुरस्कारसहित, पदक तथा प्रमाणपत्र वितरण गरिनेछ र विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा काठमाडौंसहित हेडौंटा, पोखरा, बारा, पर्सा, एपिएफको समेत सहभागिता रहेको छ । अध्यक्ष प्रचण्डको छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन पछि उनीहरुको स्मृतिमा प्रतिष्ठान बनाइएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएको समेत उनकोे भनाइ थियो । भरतपुरको रिङरोड अहिले ६६ किमी रहे पनि चाँडै ८८ किमी रिङरोडमा म्याराथन हुने महानगर प्रमुख दाहालले बताइन् । खेल पर्यटन विकासका लागि म्याराथन आयोजना गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७