गभर्नरलाई बलीको बोको बनाइयो : ओली

‘थतुनोभरी रौं भएको मुसाले धान खायो, एउटै रौ नभएको भ्यागुतोलाई कारबाही गरियो’


२६ चैत्र २०७८, शनिबार
kp oli

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ‘बलीको बोको’ बनाएको बताएका छन् । सरकारले गभर्नर अधिकारीलाई शुक्रबार निलम्बन गरेको छ । उनीमाथि छानबिनका लागि समिति गठन गरेको छ ।

काठमाडौंमा शनिबार आयोजित एमाले प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थ मन्त्री जनार्दन शर्मालाई जोगाउन सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरिएको आरोप लगाए । ‘देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक, अर्थविद्, अर्थशास्त्रीलाई बर्खास्त गरियो’, ओलीले भने, ‘राष्ट्र बैंकबाटै डेपुटी गभर्नर भएर आएका र अर्थतन्त्र बुझेका मान्छेलाई बलीको बोको बनाइयो ।’

अर्थमन्त्री शर्माको कमजोरी लुकाउन गभर्नर अधिकारीलाई कारबाही गरिएको उनको भनाइ थियो । ‘थतुनोभरी रौं भएको मुसाले धान खायो । एउटै रौ नभएको भ्यागुतोलाई कारबाही गर्‍यो’, अध्यक्ष ओलीले भने, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि । अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, देशको अर्थतन्त्र ध्वस्त पार्‍यो । सोझो भ्यागुतोलाई कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र बैंंकको गभर्नरलाई कारबाही गर्‍यो ।’

गभर्नर अधिकारीले अर्थतन्त्र जोगाउने प्रयास गरेको ओलीको भनाइ थियो । यो कारबाही हेर्दा पनि देश गलत व्यक्तिहरूको हातमा रहेको प्रष्ट उनको जिकिर थियो । सत्ता गठबन्धनका नाममा अस्वस्थ प्रतिस्पर्धा भइरहेको ओलीको आरोप थियो । उनले भने, ‘राजनीतिक प्रतिस्पर्धा कस्तो भइरहेको छ भने अत्यन्तै अस्वस्थ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७