माधव नेपालले भने, ‘हेर्नुस् त एमालेमा १० भाइ र एउटी दिदीको कस्तो विजोग छ’

‘एमालेमा ओली बाहेक अरूले बोल्नै पाइँदैन, मुख बुजो लगाएर बस्नुपर्ने हुन्छ’


२६ चैत्र २०७८, शनिबार
madhav kumar

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा नआएका नेताहरूको अहिले नेकपा (एमाले) मा विजोग भइरहेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) एकीकृत समाजवादीको काठमाडौं-दोलखा सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले एमालेमा अध्यक्ष केपी शर्मा ओली बाहेक अरूले बोल्नै नपाइने गरेको जिकिर गरे । ‘मुख बुजो लगाएर बस्नुपर्ने हुन्छ । बोली हाल्यो भने कारबाहीको सिकार हुनुपर्ने डर छ’, नेपालले भने, ‘चुप लाग्नुस् भनेपछि चुप लाग्यो, निस्किनुस् भन्यो भने निस्कियो । कोही बोल्न खोज्यो कि स्याल हुँइया, साइबर स्यालले कराउँथे ।’

एमाले अध्यक्ष ओलीको प्रतिगामी कदमविरुद्ध आवाज उठाउने ११ जना नेताको अहिले विजोग भइरहेको नेपालको भनाइ थियो । ‘१० भाइको कस्तो विजोग छ । १० भाइसँगै एउटा दिदी पनि हुनुहुन्छ’, नेपालले थपे, ‘एमालेमा सबैको विजोग छ ।’

एमाले नेता भीम रावल, घनश्याम भुसालसहित १० जनाले नेताले अध्यक्ष ओलीका क्रियाकलापको विरोध गर्दा नेपाललाई साथ दिएका थिए । त्यस्तै, नेत्री अष्टलक्ष्मी शाक्यले पनि नेपालकै पक्षमा थिइन् । नेपालले एकीकृत समाजवादी गठन गर्दा उनीहरू एमालेमै बसेका थिए । उनीहरूलाई नै नेपालले दश भाइ र दिदीको संकेत गरेका हुन् ।

अध्यक्ष नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई आगामी स्थानीय चुनावमा आवश्यकताका आधारमा योजना बनाउन निर्देशन दिएका छन् । उनले एमाले अध्यक्ष ओलीले पानी जहाजको हावादारी गफ दिएको स्मरण गर्दै भने, ‘पानी जहाज हिन्द महासागरमा डुबी सकेको छ । त्यस्ता हावादारी योजना बनाउनु हुँदैन ।’

त्यस्तै, भ्यूटावर र गेटका योजना पनि नबनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे । त्यसमा खर्च गर्ने पैसा जनताले प्रत्यक्ष सेवा सुविधा पाउने शिक्षा र स्वास्थ्यमा खर्च गर्ने गरी योजना बनाउन आवश्यक भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७