आजको दिनसम्म म कुनै पार्टीमा छैन, मेयरमा उठ्दिनँ : भुवन केसी


२६ चैत्र २०७८, शनिबार
bhuwan kc

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका अभिनेता भुवन केसीले उम्मेदवारी नदिने बताएका छन् । स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले केसीलाई मेयरको उम्मेदवार बनाउने भन्दै घोषणा गरेको थियो ।

तर एक साता नबित्दै अभिनेता केसीले आफ्नो फेसबुकमार्फत् आफू अहिले उम्मदेवार बन्न असमर्थ रहेको जानकारी गराएका छन् । फेसबुकमार्फत् विज्ञप्ति जारी गर्दै उनले आफू प्राविधिक तथा कार्यव्यस्तताका कारण उम्मेदवार बन्न असमर्थ रहेको बताए ।

तर यसबीचमा आफूमाथि टिप्पणी र अनर्गल प्रचार गर्नेहरूलाई पनि उनले आभार प्रकट गरेका छन् । साथै कलाकारले पनि जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्न सक्तैन भन्ने टिप्पणी आएको देख्दा चाहिँ आफू खिन्न भएको उनको भनाइ छ ।
‘मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात गरेको छु । त्यसैले यस महानगरको मेयरको रुपमा कुनै कलाकारले जनताको सेवा गर्ने ईच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छु । तर एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्तैन भन्ने प्रकारका टिप्पणीहरु आएको देख्दा चाहिँ अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु,’ केसीले लेखेका छन् ।

यससँगै केसीले आफू आजको दिनसम्म कुनै राजनीतिक दलसँग आवद्ध नरहेको पनि बताएका छन् । तर आफूलाई उम्मेदवार बनाएको पार्टीप्रति आफ्नो नैतिक समर्थन रहेको जनाएका छन् । आदरणीय आम नेपाली नागरिक, कला क्षेत्रका सम्पूर्ण शुचिन्तक तथा मलाई माया गर्ने सम्पूर्ण दर्शकहरू !

उन्नत लोकतन्त्र पार्टीले मलाई आफ्नो चुनाव चिन्ह खुला किताब मार्फत काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने निणर्य गरी मप्रति देखाएको विश्वास र सद्भावका लागि म आफ्नो तर्फबाट मात्र नभई पूरै कलाक्षेत्रको तर्फबाट सम्पूर्ण कला क्षेत्रको सम्मान हो भन्ने बुझी आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

उन्नत लोकतन्त्र पार्टीको सो साहसिक निर्णय पनि थियो । उक्त निणर्यको स्वागत गर्ने आम नागरिकहरुप्रति पनि म हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु । यस बीचमा धेरै भ्रम अनावश्यक चर्चा र आरोप प्रत्यारोपहरू पनि सार्वजनिक भए सो क्रममा मविरुद्ध अनावश्यक र अनर्गल रुपमा उठाइएको टिप्पणीहरूको वस्तुपरक रुपमा धेरै सकारात्मक र केही नकारात्मक दुवै टिप्पणी गर्ने सबै साथीहरू प्रति पनि म आभार व्यक्त गर्दछु ।

मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात गरेको छु । त्यसैले यस महानगरको मेयरको रुपमा कुनै कलाकारले जनताको सेवा गर्ने ईच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छु । तर एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्तैन भन्ने प्रकारका टिप्पणीहरु आएको देख्दा चाहिँ अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु ।

तर ती प्रतिक्रियाका कारण नभई प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र यसै पत्रमार्फत् हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहान्छु । स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निणर्य नभएको पनि यहाँहरूमा अवगत गराउन चाहन्छु ।

मैले हालसम्मको जीवनमा राजनीतिलाई नजिकबाट नियालेर निकालेको निष्कर्ष अनुसार नेपालमा राइट टु रिजेक्ट र राइट टु रिकलसहितको उन्नत लोकतन्त्रविना जनताका अधिकारहरु स्थापित हुन र सुशासन कायम हुन सक्तैन । आशा एवम् विश्वास छ सबै नागरिकहरुबाट राइट टु रिजेक्ट र रिकलको जनताको अधिकारका लागि साथ समर्थन र सहयोग प्राप्त हुनेछ । यो अभियानको नेतृत्व गर्ने उन्नत लोकतन्त्र पार्टी र अध्यक्ष मेरा प्रिय मित्र मैले मेरो भाइ भनेर सम्बोधन गर्ने अधिवक्ता स्वागत नेपालप्रति मेरो नैतिक समर्थन रहनेछ । तर अबको दिनमा राजनीति कहाँ, कुन पार्टीबाट गर्ने भन्ने मैले निधो गरिसकेको छैन । गरेको दिन यहाँहरूलाई सहर्ष जानकारी गराउँदै, यहाँहरूको साथ र सहयोगको अपेक्षा राख्ने नै छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७