सुदूरपश्चिममा गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी


२६ चैत्र २०७८, शनिबार
jasapa sudur paschim

धनगढी – सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको प्रति जनता समाजवादी पार्टीले असन्तुिष्ट जनाएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध भए पनि प्रदेश सरकार पुनर्गठनका क्रममा आफूहरुलाई बेवास्ता गरेको भन्दै जसपाले आपत्ति जनाएको हो ।

गठबन्धनमा आवद्ध अन्य दलले अपमान गरेको र केन्द्रीय सहमतिअनुसार अगाडि नबढेको भन्दै जसपाले गठबन्धन बाहिरिने चेतावनीसमेत दिएको छ । जसपाका प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरीले आफूहरुलाई बाइपास गरिएकाले यथास्थितिमा गठबन्धन रहन नसक्ने बताए ।

‘नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले कुनै जानकारी नदिएर कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराएकोमा हाम्रो पार्टीको अपमान गरिएको महसुस भएको छ’, धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चौधरीले भने, ‘केन्द्रीय सहमतिअनुसार अगाडि बढेको खण्डमा मात्र सहमति हुनसक्छ । अन्यथा हामी गठबन्धनमा बस्दैनौं ।’

शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुँदा आफूहरुलाई बेवास्ता गरेको जसपाको भनाइ छ । सुदूरपश्चिम प्रदेशसभामा जसपाका एक सांसद छन् । जसपाले स्थानीय तहको निर्वाचनसमेत एक्लै लड्न सक्षम भएको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७