बेजोसकी पूर्व पत्नी डिभोर्समा पाएको अर्बौं डलर दान गरेर पनि विश्वकै धनी महिला


२७ चैत्र २०७८, आईतवार
mackenzie scott1649520991

वासिङटन । अमेजोन कम्पनीका मालिक जेफ बेजोसकी पूर्वपत्नी मेकेन्जी स्कटले डिभोर्सपछि प्राप्त गरेको सम्पतिको ठूलो हिस्सा सामाजिक कल्याणका लागि दान गरेकी छन् । रिपोर्टका अनुसार अहिलेसम्मको इतिहासमै उनले जति छिटो, त्यति धेरै रकम कसैले पनि दान गरेको छैन ।

तर सामाजलाई यत्तिका सम्पति दान गरिरहँदा पनि मेकेन्जी अझै फोब्र्सको सर्वाधिक धनीको सूचीमा महिलाहरुमध्ये शीर्ष स्थानमै पर्छिन् । उनी विश्व अर्बपतिहरुको सूचीमा ३६ औं स्थानमा छिन् भने महिलाहरु मध्येकी चौथो सबैभन्दा धनी हुन् । उनले हालसम्म १२.५ अर्ब डलर दान गरिसकेकी छन् ।

तर स्कट प्रायः यसबारे गोप्य रुपमै काम गर्ने गरेकी छन् र उनी मिडियासँग पनि कुरा गर्दिनन् । अर्को कुरा स्टको दान गर्ने शैलीलाई यस हिसाबमा पनि अधिक प्रभावशाली मानिएको छ कि उनले सहयोग गरिसकेपछि सो रकम खर्च गर्ने पूरा अधिकार उक्त संगठनलाई नै छाडिदिने गर्दछिन् र आफूले कुनै हस्तक्षेप या नियन्त्रण गर्दिनन् ।

यसमा उनले लैङ्गिक समानता, जातीय न्याय, प्रजनन अधिकार, कला लगायत विभिन्न क्षेत्रसम्बन्धी सामाजिक कार्य गर्ने १ हजार बढी संगठनहरुलाई आर्थिक सहयोग गरिसकेकी छन् । धेरै संगठनहरुका लागि स्टको देन उनीहरुले प्राप्त गरेको सबैभन्दा ठूलो आर्थिक सहयोग थियो ।

स्कटको टिमले राम्रो काम गर्नका लागि आर्थिक रुपमा संघर्षरत् ठूलासाना जस्तोसुकै संघसंस्थामा केन्द्रित रहने गरेको छ । तर पनि यसमा उनीहरुले कुनै पनि निश्चित नीति या परिवर्तनको वकालत भने गर्ने गरेका छैनन् केबल मद्दत गर्ने अभिप्रायले मात्र रकम दान गर्ने गरेका छन् । रकम दिनु अगाडि स्कटको टिमले अधिकतम रिसर्च गरेर ती संगठनहरुबारे पत्ता लगाइ सम्पर्क गर्ने गरेको छ ।

यसमा मेकेन्जीको व्यक्तिगत सम्पर्क सम्बन्धी जानकारी भएको आफ्नो कुनै वेबसाइट चाहिँ छैन । यसअघि उनले आफूले गर्ने दानहरुको कुनै प्रचार नगर्ने समेत बताएकी थिइन् । उनको कूल सम्पति अहिले ४३.६ अर्ब डलर रहेको छ यो भनेको गत वर्ष भन्दा ९.४ अर्ब थोरै हो ।

२०१९ मा बेजोससँग डिभोर्स गरेपछि नै उनी अर्बपति बनेकी थिइन् जसमा उनले अमेजोनको १ करोड ८७ लाख शेयर प्राप्त गरेकी थिइन् । त्यसबेला उनको सम्पति ३६ अर्ब डलर थियो । यसपछि २०२१ मा बढेर ५३ अर्ब पुगेको हो भने २०२२ सम्म आइपुग्दा ४३.६ अर्ब डलरमा झरेको छ ।

उनले जीवनभरमा आफ्नो आधा भन्दा बढी सम्पति समाजका लागि दान गर्ने संकल्पमा हस्ताक्षर नै गरेकी थिइन् । यस्तोमा उनले २०२० मा ५०० गैरलाभकारी संगठनहरुलाई ५.८ अर्ब डलर बराबरको दान दिएकी थिइन् । यसपछि जुन २०२१ मा फेरि अर्को २.७४ अर्ब डलर २८६ सामाजिक समूहमा बाँडेकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७