माझीफेदाका ६७९ घरमा ‘एक घर, एक धारा’


२७ चैत्र २०७८, आईतवार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौंरीदेउराली गाउँपालिका-३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुशी छिन् । गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो । उनले भनिन्, ‘घरकै आँगनमा धाराबाट पानी आउन थाल्यो । पानीको जोहो गर्न छुट्टै समय छुट्याउनु पर्ने बाध्यताको अन्त्य भयो ।’

सोही वडाका दमाराका मानबहादुर घिसिङले यसअघि १५ दिनमा एकपटक पानी आउने गरेकामा अहिले घरघरमै धारा आएपछि निकै सहज भएको बताए । यसअघिको भन्दा अहिलेको खानेपानी आयोजनाले गाउँमा नयाँ उमङ्ग थपेको स्थानीय बासिन्दा बताउँछन् । एक घर एक धारा आयोजना सम्पन्न भएर पानी उपभोग गर्न पाएसँगै गाउँका दुई जनाले रोजगार समेत पाएका छन् ।

गाउँमा पानीको समस्या समाधान गरेर वडाले आफ्नो दायित्व पूरा गरेको वडा नं ३ का अध्यक्ष विनोद घिसिङले जानकारी दिए । रामेछाप जिल्लाको सिमाना जोडिएको जिल्लाको दुर्गम कोशीपारिको सो वडाका बासिन्दाका लागि आवश्यक खानेपानीको धारा जडान र आधारभूत खानेपानीको पहुँचयुक्त वडा घोषणा गर्न सफल उनको भनाइ छ ।

चौंरीदेउरालीका अध्यक्ष दीननाथ गौतमले पालिका स्थापना भएपछि आयोजनाको प्राथमिकताका आधारमा काम गर्दै आएको र तीमध्ये खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘सिङ्गो गाउँपालिकालाई नै खानेपानी समस्यामुक्त पालिका घोषणा गर्ने लक्ष्यअनुरुपमा काम भइरहेको छ’, उनले भने, ‘भूकम्पपछि छवटा वडालाई सुक्खाग्रस्त वडा घोषणा गरेर त्यहीअनुसार खानेपानी क्षेत्रमा काम अगाडि बढाइरहेका छौं ।’

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले चौंरीदेउरालीले अगाडि सारेको ‘एक घर, एक धारा’ अभियान पूणर्ता पाउने अवस्थामा पुगेको जानकारी दिए । वडा नं १ मा पानीको मुहान नै भएकाले धेरै नै पूरा भइसकेको, वडा नं २ नाग्रेगगर्चेमा लिफ्टिङको आयोजना अगाडि बढिरहेको, वडा नं ४, ५ र ६ को लागि चौंरीखोला लिफ्टिङ खानेपानी आयोजनाको काम सञ्चालन भइरहेको तथा वडा नं ७ मादनकुँडारीमा खानेपानी र सिँचाइ दुवैलाई हुने गरी चाैंरीखोला मादनकुँडारी लिफ्टिङ खानेपानी आयोजना सञ्चालन भइरहेको उनले जानकारी दिए ।

खानेपानीसँगै प्रदेश सरकारले प्राविधिक शिक्षा, सडक र अन्य भौतिक पूर्वाधार विकासका काममा आवश्यक बजेट व्यवस्थापन गरी जनताको आवश्यकता पूर्ति गर्न लागिरहेको बताए । सांसद गङ्गाबहादुर तामाङले एक घर एक धारा अभियानलाई पूरा गर्नका लागि बजेटको केन्द्रिकरण गर्दै थालेको कामले सार्थकता पाएसँगै उपभोक्ताको चाहना पूर्ति गर्न सफल भएको जानकारी दिए ।

माझीफेदालाई ‘एक घर, एक धारा’ निर्माण पूरा गरेपछि आधारभूत खानेपानी पहुँचयुक्त वडा घोषणा गरिएको छ । त्यहाँका ६७९ घरपरिवारलाई घर-घरमा खानेपानीको पक्की धारासहित आधारभूत खानेपानीको पहुँच पुर्‍याएपछि सांसद तामाङ र बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री ढकालले संयुक्तरूपमा शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७