भारत बिहारमा पाँच सय टनको फलामे पुल दिनदहाडै चोरी, खोज्दै प्रहरी


२७ चैत्र २०७८, आईतवार
Bihar Bridge Stolen 1

काठमाडौं । छिमेकी मुलुक भारतको बिहारमा सुन्दै अचम्म लाग्ने घटना घटेको छ । बिहारको सासाराम जिल्लामा ६० फुट लामो पाँच सय टनको फलामको पुल नै चोरी भएको छ ।

समाचार संस्था पीटीआईले प्रहरीलाई उद्धृत गर्दै आफूलाई सरकारी अधिकारी बताउने केही व्यक्तिले उक्त चोरी गरेको जनाएको छ । सन् १९७२ मा एक नहरमाथि बनेको उक्त पुलको तौल पाँच सय टन रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

समाचार संस्था एएनआईसँगको कुराकानीमा सासाराम जिल्लाका एसपी आशिष भारतीले उक्त पुल सिंचाई विभागको रहेको तर वर्षौं अगाडिदेखि प्रयोगमा नआएको बताए । उनका अनुसार सिँचाई विभागबाट पुल लैजान मानिसहरु आएको भन्ने ठानेर गाउँलेहरुले पनि कुनै सूचना दिएका थिएनन् । जब सम्बन्धित निकायले पुल नभएको जानकारी पायो त्यसपछि सिँगै पुल चोरी भएको खुलेको थियो । प्रहरीले घटनाबारे उजुरी दर्ता गरी छानविन शुरु भएको जनाएको छ ।

साथै, जिल्लाभरका कवाडी सामान खरिद गर्ने डिलरहरुलाई पनि यस घटनाबारे सचेत गराइएको छ । बिहार, विधानसभाका विपक्षी नेता तेजस्वी यादवले यस मामिलामा नितिश सरकारमाथि आक्रोश पोखेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘४५ वर्ष पुरानो ५ सय टन फलामको पुललाई १७ वर्षको भाजपा-नितिश सरकारले दिनदहाडै लुट्यो । चोर ग्यास कटर, जेसिभी तथा सयौँ कामदारका साथ आएर पुल उखालेर लग्यो । चोर जनादेश चोरीबाट बनेको एनडीए सरकारबाट प्रेरित देखिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७