प्रदेश सरकारमा सहभागी नगराएपछि सुदूरपश्चिममा रिसायो जसपा, गठबन्धन नगर्ने


२७ चैत्र २०७८, आईतवार
jasapa sudur paschim

कञ्चनपुर । प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै रुष्ट बनेको जनता समाजवादी पाटीं (जसपा) ले सुदूरपश्चिममा सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । जसपाको सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सरकार पुनर्गठनका क्रममा आफूलाई अपमानजनक व्यवहार गरेकाले यथास्थितिमा गठबन्धनमा रहन नसक्ने जनाएको हो ।

जसपा प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले केन्द्रमा पाँच दलीय सहमतिविपरीत सुदूरपश्चिममा जसपालाई अलग राख्न खोजिएकाले गठबन्धनमा बस्नुको औचित्य नदेखिएको बताए । ‘पाँच दलीय गठबन्धन प्रदेशमा पनि विस्तार गर्ने केन्द्रमा सहमति छ । यहाँ हाम्रो पनि सांसद छन् । तर, हामीलाई न सरकारमा सहभागी गराइयो, न सरकार पुनर्गठन गर्दा हामीसँग सल्लाह गरियो,’ अध्यक्ष चौधरीले भने, ‘अपमानजनक व्यवहार गरिएको महसुस भएको छ । यही अवस्थामा हामी गठबन्धनमा रहन सक्दैनौं ।’

केन्द्रमा भएको सहमतिअनुसार दलहरू अगाडि नबढे आगामी ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचन एक्लै लड्ने उनले बताए । सरकार पुनर्गठनका क्रममा माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेसले आफ्नो पार्टीलाई कुनै जानकारी समेत नदिएर बेवास्ता गरेको उनको भनाइ छ । जसपाले गठबन्धन कायम राख्न आफूलाई पनि सरकारमा सहभागी गराउनुपर्ने माग गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले दुई मन्त्री र एक राज्यमन्त्री दिएर शुक्रबार कांग्रेसलाई प्रदेश सरकारमा भित्र्याएका थिए । कांग्रेस संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्दराज बोहरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका हुन् । ती मन्त्रालय यसअघि समाजवादीले नेतृत्व गरेको थियो ।

केन्द्रमा भएको सहमतिअनुसार कांग्रेसलाई सरकारमा भित्र्याउन समाजवादीका मन्त्रीले राजीनामा दिएका थिए । समाजवादीले आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाएर उक्त मन्त्रालयमा प्रकाश रावललाई पठाएको थियो ।

भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीलाई फिर्ता बोलाएर उनको ठाउँमा कुलवीर चौधरी र आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहरालाई फिर्ता बोलाएर उनको ठाउँमा अमरबहादुर साउदलाई पठाएको थियो । सुदूरपश्चिममा गठबन्धनलाई मजबुत बनाउन कांग्रेसलाई सहभागी गराइएको हो । तर, सरकार पुनर्गठनमा आफूलाई जानकारी समेत नगराइएको भन्दै जसपा रुष्ट बनेको हो । प्रदेश सभामा जसपाका एक जना सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७