अर्थतन्त्र श्रीलंकाको जस्तै बन्दैछ, वृद्धभक्ता नदिए अनौठो नमान्नु होला : ओली


२७ चैत्र २०७८, आईतवार
kp oli 3

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको दाबी गरेका छन् ।

आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लाग्दा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उनले बताए ।

नेता ओलीले भनेका छन्, ‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको ? श्रीलंका बन्न जाँदैछ नेपाल । केही समयपछि तपाईहरूले तनाखा पाउनु भएन भने अनौठो नमान्नु होला । तनाखा दिनसक्ने अवस्था छैन । ज्येष्ठ नागरिकहरुले भत्ता पाएनन् भने अनौठो नमान्नु होला । दिनसक्ने अवस्था छैन । योजनाहरु, आयोजनाहरु काटिएका छन् । त्यो गठबन्धनमा लागेका त खुसी नै होलान् । देश यस्तो अवस्थामा पुग्दा पनि गठेहरू छन् नि आनन्दमा छन् । प्रशन्न छन् । खुसी छन् । किनभने एमालेलाई रोकियो । एमालेलाई सरकारबाट हटाइयो । कति दिन हटाउने एमालेलाई सरकारबाट ? ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । नेकपा एमाले त चुनावको वर्षायाम पर्खिरहेको छ । चुनावको वसन्तको याम पर्खिराखेको छ । चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिन्छ । गठबन्धन केही पनि होइन ।’

गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउँदै लगेको पनि ओलीको आरोप थियो । ‘देश बर्बाद बनाउँदैछन् गठबन्धनवालाहरुले । बर्बाद बनाउँदैछन्, अहिले नै अर्थतन्त्र ध्वस्त भइसक्यो । देश एउटा फेल्ड स्टेटतिर जाने अवस्था आउँदै छ । श्रीलंका कस्तो भइराखेको छ अवस्था ? कोही विदेश जाने कल्पना नगरे हुन्छ किनभने विदेश जान डलर चाहिन्छ, डलर राष्ट्र बैंकले दिन सक्दैन । अहिले देशको पैसा बाहिर बाहिरै गइराखेको छ,’ ओलीले भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७