सेनाद्वारा सशस्त्र प्रहरीलाई इन्सास राइफलसहित ५९० थान हतियार हस्तान्तरण


२७ चैत्र २०७८, आईतवार
NP KTM 20220410 0D3A6075b scaled

काठमाडौं । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई ५९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) ९० नाल एवं सोको एम्युनिशनसहित सामग्री सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन् ।

सशस्त्रलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रम सञ्चालनका लागि ती हतियार उपलब्ध गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको बैठकमा सेनाद्वारा सहयोगस्वरुप सशस्त्र प्रहरीलाई इन्सास राइफल नौ हजार नाल र एलएसडब्लु एक हजार ६०० नाल हतियार उपलब्ध गराउने निर्णय भएको थियो ।

सोहीअनुरुप सेनाले आज ती हतियार हस्तान्तरण गरेको र बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गर्दै जाने सेनाले जानकारी दिएको छ । ती हतिरयारबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनाका साथै सुरक्षा निकायबीच सम्बन्धसमेत थप सुमधुर हुने सेनाले विश्वास लिएको छ ।

हस्तान्तरण समारोहमा रक्षा मन्त्रालयका सचिव किरणराज अर्याल र गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा, व्यवस्था, नीति तथा योजना विभाग प्रमुख उपरथी अशोकराज सिग्देललगायत उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७