पुल बगाएको नौ महिनापछि बेलिब्रिज


२८ चैत्र २०७८, सोमबार
pul 1
फाइल फोटो

तनहुँ । तनहुँको व्यास नगरपालिका-१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो ।

पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका बासिन्दा मारमा परेका थिए । नेपाली सेना र स्थानीयवासीको सहयोगमा तत्काल कल्भर्ड हाली आवतजावतको व्यवस्था मिलाइएको थियो । भानु तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मस्र्याङ्दी नदीले बगाएपछि सोही बेलिब्रिज छाब्दीखोला दोभानमा राख्ने योजना बनाइएको थियो । चितवनबाट मर्मत गरेर ल्याइएको बेलिब्रिज जडान गरिएको पूर्वाधार विकास एकाइ कार्यालय तनहुँका सिनियर डिभिजन इञ्जीनियर दिनेशकुमार घिमिरेले जानकारी दिए ।

सङ्घीय सरकारको रु १८ लाख सहयोगमा सडक डिभिजनमार्फत बेलिब्रिज ल्याइएको हो । गण्डकी प्रदेश सरकारको रु ४३ लाखको लागतमा ग्याबिन जाली तथा बेलिब्रिज मर्मत गरिएको हो । बेलिब्रिज जडानसँगै आवातजावत गर्न सहज भएको व्यास-१३ का वसन्त आलेले बताए । पृथ्वी राजमार्गलाई अहिले चौडा बनाउने काम भइरहेको छ । बुद्धसिं मार्गलाई वैकल्पिक सडकका रुपमा रूपमा विस्तार गर्न लागिएको छ ।

पाँच पुल यसै आवमा बनाइने

तनहुँमा निर्माणाधीन तेह्रमध्ये पाँच पुल यसै आर्थिक वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पूर्वाधार विकास एकाइ कार्यालयका अनुसार शालिकराम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका-४ र ५ जोड्ने ज्वाला खोला पुल, ऋषिङ-५ लुक्दी खोला र घिरिङ-४ को तिरमदी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । घिरिङ गाउँपालिका-१ पुट्टार द्रौपद पुल तथा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदी खोलाको पुल पनि यसै आवमा सम्पन्न गर्ने लक्ष्य छ ।

सिनियर डिभिजन इञ्जीनियर घिमिरेका अनुसार निर्माणधीन अवस्थामा रहेका पाँच सडकको म्याद थप गरी निर्माण अघि बढाइएको छ । दुलेगौडा-हर्कपुर सडक असारसम्म, भानुमार्ग फागुनसम्म, मानपुर-डेढगाउँ मोटरमार्ग फागुनसम्म र आँबुखैरेनी-छिम्केश्वरी असोजसम्म म्याद थपका लागि मन्त्रालयलाई पत्राचार गरिएको छ । घिरिङ हुँदै केलादीघाट कालीगण्डकी नदीको तीरैतीर स्याङ्जा र पाल्पा जोड्ने गरी शालिकराम करिडोर तीव्र गतिमा निर्माण भइरहेको छ । करिब ६८ किलोमिटरमध्ये दासढुङ्गा-देउपुरसम्मको ६ किलोमिटर सडक कालोपत्र गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७