सशस्त्र प्रहरीमा आज आईजीपी नियुक्ति हुँदै, प्रहरीमा तीन डीआईजी बढुवाको सकस


२८ चैत्र २०७८, सोमबार

काठमाडौं । सरकारले आज (सोमबार) सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्त गर्ने भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको चार वर्षे कार्यकाल सकिएर आजदेखि उनले अवकाश पाउने भएका छन् ।

अबको आईजीपी लागि खनालकै ब्याचका दुई एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्येबाट नियुक्त गरिनेछ । तीमध्ये केसीको चर्चा बढी छ । जो नियुक्त भए पनि वैशाख १९ गतेसम्म मात्रै रहने छन् । त्यसपछि ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । चुनावअघि नै सशस्त्रमा फेरि आईजीपी फेरिने छ ।

त्यसपछिको आईजीपी पनि आजै टुंगो लाग्ने छ । एक जनालाई आईजीपी नियुक्त गरेपछि रिक्त हुने एआईजीमा जो बढुवा हुन्छ वैशाख १९ गतेपछि उही आईजीपी बन्ने सुनिश्चित हुनेछ । २१ दिने आईजीपीका दाबेदार दुवै जना खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका हुन् । प्रहरी निरीक्षकबाट २०४९ वैशाख १९ गते सेवामा प्रवेश गरेका उनीहरु २०५८ सालमा एक तह बढुवा हुँदै सशस्त्र प्रहरीतिर लागेका थिए ।

त्यसपछि उनीहरु खनालसँगै एआईजीसम्म बढुवा भए । तर, २०७४ चैत २७ गते सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भए । यी दुई एआईजी त्यतिबेलै आईजीपीमा दाबेदार थिए । तर, गत वर्ष उनीहरु एआईजीको चार वर्षे कार्यकाल सकिएर घर जाने अवस्था थियो ।

सशस्त्र प्रहरी नियमावलीमा चार वर्षे कार्यकाल सकिने डीआईजी र एआईजीको कार्यकाल एक वर्ष थप गर्न सक्ने व्यवस्था छ । यो अनिवार्य व्यवस्था होइन । सरकारले नचाहेमा थप नगर्न पनि सक्छ । चार वर्षे कार्यकाल पूरा भएर म्याद थप नहुँदा ३० वर्षे सेवा पूरा नभई अवकाशमा जान्छन् । तर, केसी र पौडेलको कार्यकाल थपिएपछि उनीहरुमध्ये एक जना आईजीसम्म हुन लागेका हुन् ।

प्रहरीमा तीन डीआईजी बढुवाको सकस
नेपाल प्रहरीमा तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) को पद खाली छ । चैत १ मा तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएसँगै रिक्त भएको सिटमा बढुवा हुन सकेको छैन । चैत १ मा बढुवा समितीले धीरज प्रताप सिंह, बसन्त पन्त र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरुको सिफारिससँगै खाली भएको डीआईजीको सिटमा बढुवा गर्न सकस भएको हो ।

मेरिट लिस्ट अनुसार पुरानालाई बढुवा गर्ने वा नयाँलाई अवसर दिने भन्नेमा मतभेद देखिएको छ । आईजीपी शैलेश थापा क्षेत्रीसँगै २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरी र प्रदीप कुमार श्रेष्ठ पनि डीआईजी हुने प्रतिस्पर्धामा छन् । चौधरी मेरिट लिस्टको ३ नम्बरमा छन् । मेरिट लिस्टको पहिलो नम्बरमा नल प्रसाद उपाध्याय र दोस्रो नम्बरमा मोहन कुमार आचार्य छन् । उपाध्याय र आचार्य २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । प्रदिप कुमार श्रेष्ठ मेरिट लिस्टको पाँचौ नम्बरमा छन् । मेरिट लिस्टको चौथो नम्बरमा छन्, मसउद आलम खाँ ।

गृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मेरिट लिस्ट अनुसार बढुवा गर्न खोजेका छन् । तर, प्रधानमन्त्रीको सचिवालयले पुराना दुई जना र नयाँ ब्याचबाट एक जनालाई बढुवा गर्न दबाव दिएपछि बढुवा अन्योलपूर्ण बनेको जानकारहरु बताउँछन् । आईजीपी क्षेत्रीका ब्याचमेट उनीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७