एमालेको चुनावी अभियान : देश दौडाहामा ओली, आज बझाङमा चुनावी सभा


२८ चैत्र २०७८, सोमबार
kp oli


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहमा उम्मेदवार सिफारिस, चुनावी घोषणापत्र तयार र पार्टी प्रवेश कार्यक्रमलाई एकैसाथ अघि बढाएको छ । पछिल्लो पटक चैत १० मा बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीको सम्पूणर् शक्ति चुनावमा केन्द्रीत गर्ने निणर्य गर्दै नेता कार्यकर्ताहरूलाई सम्बन्धित, प्रदेश, जिल्ला, क्षेत्र, गाउ नगर र वडा तहसम्म चुनावी कार्यक्रम लिएर जनतामाझ जान निर्देशन दिएको थियो ।

उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङले पार्टी निर्देशन अनुसार सवै नेताहरु आआफ्नो जिल्ला र क्षेत्रका चुनावी अभियानमा सक्रिय भएको बताए । चुनावी अभियानअन्तर्गत सम्बन्धित जिल्ला र प्रदेशका केन्द्रीय नेताहरु खटिएको गुरुङको भनाइ छ ।

‘केन्द्रको निर्देशन अनुसार चुनावी अभियानमा खटिएका सम्बन्धित पार्टी कमिटीहरुले उम्मेदवार सिफारिस, चुनावी घोषणापत्र तयार र पार्टी प्रवेश कार्यक्रम एकैसाथ अघि बढीरहेको छ’ नेता गुरुङले जानकारी दिए । एमालेले स्थानीय तहको उम्मेदवार छनोटका लागि ६ वटा मापदण्ड तय गरेको छ ।

सोही मापदण्डभित्र रहेर देशैभरका स्थानीय तहमा उम्मेदवार सिफारिस गर्ने क्रम चलिरहेको नेताहरुको भनाइ छ । चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न केन्द्रले दिएको निर्देशनअनुसार कही सर्वसम्मत त कतै मतदानमार्फत धमाधम उम्मेदवार सिफारिसको काम अघि बढेको प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ ।

एमालेले वडा कमिटीको हकमा वडाले सिफारिस गरेर गाउँ नगरपालिकाले निर्णय गर्ने, गाउँ नगरपालिकाको जिल्लाको सिफारिसमा प्रदेशले निणर्य गर्ने मापदण्ड बनाएको छ । त्यस्तै महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखको हकमा सम्बन्धित कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निणर्य गर्ने मापदण्ड छ ।

आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित आमसभालाई सम्बोधन गर्न एमालेका अध्यक्ष ओली सोमबार बझाङ आउँदै छन् । एमाले बझाङले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न अध्यक्ष ओली यहाँ आउन लागेका हुन् । बझाङ सदरमुकाममा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले बझाङका अध्यक्ष अफिलाल ओखेडाले बताए ।
‘कार्यक्रमको सम्पूणर् तयारी पूरा भएको छ । जनतामा एमाले मजबुत रहेको देखाउन शक्ति प्रदर्शन गरिरहेका हौं,’ उनले भने, ‘अध्यक्ष ज्यू हेलिकप्टरमार्फत आउनु हुन्छ ।’

उनका अनुसार कार्यक्रममा ३०/४० हजार भन्दा बढी मानिसको सहभागीता रहने अनुमान गरिएको छ । ‘अहिले ११ बजे विभिन्न ठाउँमा र्‍याली निस्किन्छ,’ अध्यक्ष ओखेडाले भने, ‘२ बजे कार्यक्रम शुरु गरिने छ । हजारौंको संख्यामा मानिस एमाले प्रवेशको तयारी पनि छ ।’ चुनाव नजिकिँदै जाँदा देश दौडाहामा रहेका अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णु पौडेललगायत नेता पनि बझाङ आउँदै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७