मेलम्चीको पानी भोलिबाट सुरुङमा पठाउने, काठमाडौं आइपुग्न १५ दिन लाग्ने


२८ चैत्र २०७८, सोमबार
Melamchi 2 scaled

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले भोलि (मंगलबार) बाट खानेपानी सुरुङमा पठाउने भएको छ । पुनर्निर्माणको काम सकिएसँगै फिलिङका लागि सुरुङमा पठाउन लागिएको समितिले जानकारी दिएको छ ।

समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएर सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए । ‘‘हाम्रोतर्फबाट काम सकाएका छौं । भोलिदेखि नै फिलिङका लागि सुरुङमा पानी पठाउने तयारीमा छौं’, उनले भने । गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले भने भोलि नै खानेपानीको उद्घाटन हुनेबारे टुंगो लागिनसकेको बताएका छन् । ‘‘हामीलाई केही जानकारी आएको छैन’, उनले भने । सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरकाअनुसार काठमाडौंमा पानी आउन अझै १० देखि १५ दिनसम्म लाग्ने छ ।

‘स्ट्यान्डर्ड अपरेटिङ प्रोटोकलअनुसार पानी काठमाडौं आइपुग्न १५ दिन लाग्छ । प्रतिसेकेन्ड ६५ लिटरका दरले पानी पठाउँछौं । एकै पटक खोला छाड्ने होइन । सुन्दरीजलसम्म पानी पुगेपछि पुनः मेलम्चीमै पानी फिर्ता आउँछ । सुरुङमा पानी बढी भयो भने १० देखि १२ दिनभित्रै पानी पुग्छ । तर बाटोमा केही पानी लिकेज भयो भने १५ दिनको ठाउँमा अलि बढी दिन पनि लाग्नसक्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७