मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने


२९ चैत्र २०७८, मंगलवार
Melamchi 2 scaled

काठमाडौं । मेलम्चीको पानी आज (मंगलबार) देखि सुरुङमा पथान्तरण गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले मंगलबारदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ ।

समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए ।

केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उनले बताए । मंगलबार अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरणको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ ।
गत वर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो ।

वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । सुरुङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७