बाँचे चुर्लुम्म ऋण, मरे आफन्तलाई सास्ती


२९ चैत्र २०७८, मंगलवार
heli

गोरखा । आर्थिक समस्या र त्यसमाथि गाउँसम्म सडक सञ्जाल नपुग्दा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-३ फिलिमकी उमा गुरुङको उपचारक्रममा यही चैत २४ गते काठमाडौंमा मृत्यु भयो । शव गाउँमै लगेर अन्तिम संस्कार गर्ने निणर्य परिवारका सदस्यले गरे । तर, काठमाडौंबाट गाउँमा शव लैजान आफन्तलाई धौ-धौ पर्‍यो ।

हेलिकोप्टर चार्टर गर्न रकम अभाव भएकाले आफन्त सकसमा परेका हुन् । ‘अन्त्येष्टिका लागि शव गाउँमै लैजाने कुरा भयो । तर, आर्थिक समस्याले हेलिकोप्टर चार्टर गर्न सकिएन’, स्वर्गीय उमाका आफन्त नवीन गुरुङले भने, ‘आफन्त र काठमाडौंमा बस्ने गोरखालीसँग सहयोग मागेर रकम जुटायौं ।’

सुरुमा उनलाई गोरखाकै सिर्धीबास स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि एक लाख ४० हजार रुपियाँमा हेलिकोप्टर चार्टर गरी उमालाई काठमाडौं लगिएको थियो । काठमाडौं पुग्ने बित्तिकै उनको मृत्यु भएपछि पुनः एक लाख ६० हजार रुपियाँ जुटाएर शव गाउँ पठाउने बाध्यतामा आफन्त परेका थिए ।

काठमाडौँमा अध्ययनरत आफन्त जोनिशा गुरुङले भनिन्, ‘हाम्रो दुःख बुझेर धेरैले सहयोग गरिदिनुभयो । आर्थिक सहयोग जुटाएर काकीको शव गाउँ पठाउन सक्यौँ ।’ हालसम्म यातायात सञ्जाल नजोडिएको उत्तरी गोरखाका धेरै सर्वसाधारणको अस्पतालै नदेखी मृत्यु हुने गरेको छ । कसैले अस्पताल देख्छन् । तर, ऋणको भारी बोकाएर संसार छाड्छन् । ‘अस्पताल लगेर कोही बाँच्यो भने पनि ऋण तिर्दैमा जिन्दगी जान्छ’, चुमनुब्रीका पासाङ लामाले भने, ‘मरियो भने पनि परिवार र आफन्तले सास्ती भोग्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७