आश्रमटोलमा हरियाली उद्यान


२९ चैत्र २०७८, मंगलवार
Keukenhof Gardens Lisse Netherlands FkCCjZ1VI9

दाङ । बटुवालाई शीतलता दिन र बिरुवा संरक्षण गर्न दाङको घोराही-१४ स्वर्गद्वारी आश्रमटोल क्षेत्रमा वातावरणमैत्री हरियाली उद्यान (ग्रिनपार्क) चौतारी निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रु पाँच लाख र टोलवासीको जनश्रमदानबाट उद्यान निर्माण गरी वडावासीले उदाहरणीय काम गरेका हुन् ।

सानो लगानीमा निर्माण गरिएको उद्यानले यहाँको वातावरण सुन्दर बनाउन र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । वातावरण स्वच्छ राख्न, शीतलताका लागि सानो लगानीबाट पनि काम गर्न सकिन्छ भन्ने उदाहरण भएको बताए ।

पालिकाले बनाई दिएको साझा सम्पत्तिलाई अब स्थानीय टोलवासीले संरक्षण गर्न र यसको दिगो व्यवस्थापन समेत आग्रह समेत गरिएको छ । धर्मका नाममा रोपिएका बिरुवालाई सडक विकासका नाममा विनाश नगरी संरक्षण गर्न सकेमा वातावरण स्वच्छ हुने उनले विश्वास व्यक्त गरे ।

वडा नं १४ का वडाध्यक्ष शक्तिराम डाँगीले आफूले समाजमा उल्लेखनीय काम गरेको बताए । उद्यानले बटुवा र टोलवासीलाई शीतलता दिने छ । जनप्रतिनिधिले जनतासँग मिलेर स्थानीय तहमा ओझेल परेका संरचनाको संरक्षण गर्ने गरेको उनले जानकारी दिए ।

उद्यान निर्माण उपभोक्ता समिति अध्यक्ष लोकेन्द्र रोकाले उद्यान निर्माण भएपछि स्थानीयवासी निकै खुसी भएको र साझा सम्पत्तिलाई संरक्षण गनुपर्ने दायित्व आफूहरूलाई आएको बताए । स्वर्गद्वारी आश्रम टोल विकास संस्थाका सचिव विष्णु बुढाले टोलटोलमा रहेका ऐतिहासिक धरोहरलाई सबैले संरक्षण गरेर पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न आग्रह समेत गरे ।

टोलमा हुने भेला, बैठक बस्नलाई चौतारीमा बेन्चको व्यवस्था गरिएको छ । फूलबारी, शीतल हावाले बाटोमा हिँड्ने जोकोहीलाई पनि आर्कषण गर्ने गर्दछ । पहिले-पहिलेका मानिसले पुण्य कमाउन घरछेउ वा सडकको छेउछाउमा वरपिपलका बिरुवा रोप्दथे । तिनै बिरुवा ठूला भएपछि संरक्षण गरेर चौतारी बनाउँथे । गाउँले चौतारीमा भेला हुने, छलफल गर्ने चलन थियो । पछिल्लो समय सडक विस्तार वा अन्य यस्तै बहाना गरेर सडक छेउमा रहेका वरपिपलका बिरुवा काट्ने गरेको देखिन्छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७