चुनावी तालमेलको ‘मोडालिटी’ टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै


२९ चैत्र २०७८, मंगलवार
Satta gathabandhan meeting Thrusday

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज (मंगलबार) बस्दैछ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताले हिजो विश्वासको वातावरण बनाउन नेता कार्यकर्तालाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेका थिए ।

७५३ पालिकामै तालमेलका लागि भागबण्डा मिलाउन आजको बैठकमा सहमति हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । उनका अनुसार हिजो र अस्तीको बैठकमा भएको छलफलका आधारमा आज तालमेलको मोडालिटी तय गरिने छ ।

मोडालिटी बनेपछि कुन दलले कहाँ नेतृत्व गर्ने भन्नेबारे निर्णय गर्न व्यावहारिक हुने उनको भनाइ छ । परिपक्क र विश्वासिलो तालमेल नभए प्रमुख प्रतिपक्षी दल एमालेसँग कमजोर हुने भन्दै सत्ता गठबन्धन अहिले तल्लो तहसम्मका नेता कार्यकर्तालाई बुझाउन केन्द्रित भएको छ ।

यसैबीच, ७५३ पालिकामै चुनावी तालमेल गरी भागबण्डाको गृहकार्य गरेपछि सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ ।

डा. शेखर कोइराला समूहले पार्टीको निणर्य र विधानको व्यवस्था विपरीत तालमेलको मोडालिटी तय भए कठिन हुने बताएको छ । केन्द्रबाट महानगरपालिकाका उम्मेदवार चयन गर्ने अधिकार भए पनि उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उम्मेदवार चयन र तालमेलको निणर्य सोही निकायबाटै हुनुपर्ने कोइराला समूहको माग छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७