बैसाख ५ भित्र उम्मेद्वार तय गर्न माओवादीको सर्कुलर

केन्द्रको स्वीकृति विना गठबन्धन तोड्न नपाइने, कम्तिमा एक पालिका प्रमुखमा महिला उम्मेदवार


२९ चैत्र २०७८, मंगलवार
prachanda 4


काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र मातहतका कमिटीमा स्थानीय तह निर्वाचनमा लड्ने उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर जारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार विशेष सर्कुलरमार्फत सबै उम्मेदवारहरूको सिफारिस वैशाख ५ गते भित्र गरिसक्न निर्देशन दिएका हुन् ।

यस्तै माओवादीले गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने पनि मातहतका कमिटीलाई सर्कुलर गरेको छ । केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा आफूखुशी निणर्य लिन पनि माओवादीले रोक लगाएको एक नेताले जानकारी दिए । गठबन्धनकै दलहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने सर्कुलरमा भनिएको ती नेताको भनाइ छ । यस्तै स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ ।

पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन गरिएको हो । पार्टीको यस्तो व्यवस्थाले हेर्दा सामान्य लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि निकै महत्वपूर्ण हुने बताउँछिन् माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसी ।

‘एक पालिकाबाट न्यूनतम एक महिला वडाध्यक्ष र एक जिल्लाबाट न्यूनतम १ महिला पालिका प्रमुख वा अध्यक्ष अनिवार्य गराउँदा देशभरीबाट माओवादी पार्टीबाट मात्रै न्यूनतम ७७ पालिका प्रमुख वा अध्यक्ष र न्यूनतम ७५३ वडा अध्यक्ष हुनेछन्’ उनले भनिन्, ‘हेर्दा सामान्य जस्तो लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि यो निकै महत्वपूर्ण हुनेछ ।’

महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम माओवादीको प्रदेश समितिहरूले सर्वसम्मत भए एक/एक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने छ। केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गर्नेछ ।

त्यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ । अनुमोदन भने केन्द्रीय कार्यालयले गर्ने छ ।

वडा अध्यक्ष र सदस्यहरूको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्नुपर्ने छ । गठबन्धनमा तालमेलका लागि प्राथमिकताका दिने, तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरूबीच प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिएर गर्नुपर्ने सर्कुलरमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७