सभापतिले आफूखुशी गरेको भन्दै सल्यान कांग्रेसमा विवाद


२९ चैत्र २०७८, मंगलवार
thumb 3

सल्यान । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर जिल्ला सभापतिले एकलौटी निणर्य गरेको भन्दै नेपाली कांग्रेस सल्यानमा विवाद उत्पन्न भएको छ । सभापति केशरबहादुर विष्टले विधानबाहिर गएर निर्वाचनका लागि संसदीय समिति गठन गर्दै केन्द्रमा प्रतिवेदन पेस गरेको भन्दै असन्तुष्ट पदाधिकारीहरूले विरोध जनाएका छन् ।

जिल्ला सभापति विष्टले मनपरी गरेको र पार्टीको बैठकमा कुनै निर्णय नगरी बाहिरिएका कारण अन्य पदाधिकारी असन्तुष्ट भएका छन् । जसकारण अहिले सभापति केशबहादुर विष्ट र पदाधिकारीहरू दुई समूहमा विभाजित भएका छन् । असन्तुष्ट समूहले सोमबार पत्रकार सम्मेलन गरेर सभापतिले गरेका निर्णयमा आपत्ति जनाएका छन् । स्थानीय निर्वाचनको सम्पूर्ण जिम्मेवारी पाएका सभापति बिष्टले बैठक नबसाई र संसदीय समिति गठन नगरी आफूखुशी निर्णय गरेकाले आफूहरू असन्तुष्ट भएको कांग्रेस सल्यानका उपासभापति सन्तोष केसीले जानकारी दिए ।

‘वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा क्षमताअनुसार सबैलाई अवसर दिनुपर्छ भन्ने हाम्रो माग थियो । तर सभापतिले आफूलाई फाइदा हुने खालका मात्र काम गरे,’ उनले भने‚ ‘पार्टी कार्यालयमा लगातार दुई दिन बैठक बसे पनि उनले बैठकमा संसदीय समितिका बारेमा कुनै कुरा उठाएनन् । बरु बैठकै छाडेर निस्किए । स्थानीय निर्वाचनको तयारी गर्न हामीले बैठकमा सहभागी हुन बारम्बार आग्रह गरिरहेका छौं । तर उनले मानिरहेका छैनन् । यसले निर्वाचनमा ठूलो असर पार्ने देखिएको छ ।’

सभापतिले बेवास्ता गरे आफूहरू माथिल्नो निकायमा जाने उपसभापति केसीले चेतावनी दिए । जिल्लामा ४४ पदाधिकारी रहेकामा ३३ जना आफ्नो पक्षमा र सभापतिका पक्षमा ११ जना मात्रै रहेको केसीको दाबी छ । बहुमतका आधारमा जाउँ भन्दा पनि सभापति नमानेको र विधान अनुसार पनि जान तयार नभएको उनले बताए ।

कांग्रेस सभापति विष्टले भने केन्द्रमा पठाएको प्रतिवेदन, संसदीय समिति गठन केन्द्रको नीति तथा विधानअनुसार नै गरेको र एक पक्षीय नभएको बताएका छन् । उनले पदाधिकारीले गरेको मागअनुसार सहमति गरेर सबैलाई सन्तुष्ट बनाएर लैजान खोजेको जानकारी गराएका छन् । ‘मैले आफ्नो दुरुपयोग गरेको छैन र व्यक्तिगत स्वार्थका लागि पनि गरेको छैन‚’ उनले भने । पदाधिकारीले विवाद उठाएकै कारण आफू बैठक छाडेर निस्किएको र उक्त बैठक वैशाख ३ गते पुनः बोलाउने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७