पोखराको मेयर नछोड्न भन्दै कांग्रेस नेताहरु डेलिगेशनका लागि काठमाडौंमा


२९ चैत्र २०७८, मंगलवार
pokhara mahanagar

पोखरा । सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले दाबी गरेपछि नेपाली कांग्रेस कास्कीका नेताहरु डेलिगेसनका लागि काठमाडौं आइपुगेका छन् ।

पूर्वमन्त्री यज्ञबहादुुर थापाको नेतृत्वमा जिल्लाका नेताहरु डेलिगेशनका लागि काठमाडौं आएका हुन् । पोखराको मेयर पद छोड्न नसकिने अडानसहित काठमाडौं आएका उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई भेट्ने जनाएका छन् ।
समाजवादीको पहिलो रोजाइ नै पोखरा हो । भूगोलको हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिका पर्यटनको राजधानी पनि मानिन्छ ।

अघिल्लो निर्वाचनमा १३ हजार ७०२ मतान्तरले एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई पराजित गरेका थिए । अहिले पोखरामा ३९ हजार मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले प्रमुखमा ४६ हजार ४१६ मत ल्याएको थियो । यसपटक पोखरामा ३९ हजार ६४५ मतदाता थपिएका छन् । नयाँ मतदातामा १५ हजार मतदाता आफ्नो रहेको दाबी कांग्रेसको छ । सोही कारण देखाउँदै गठबन्धनको सबैभन्दा ठूलो दलको हिसाबमा पोखरा कांग्रेसले छोड्न नहुने दबाब दिन कास्की कांग्रेस नेतृत्व काठमाडौं आएका हुन् ।

कांग्रेस पोखरा महानगर सचिव गणेश बहादुर थापाका अनुसार कांग्रेस कास्की सभापति किशोरदत्त बरालको समन्वयमा प्रदेश मन्त्री विन्दुकुमार थापासहित वरिष्ठ नेता, कास्की जिल्ला कार्यसमिति, क्षेत्रीय र प्रदेश सभापति, महानगर पदाधिकारी, कांग्रेसको तर्फबाट पोखरा महानगरका लागि मेयर तथा उपमेयरका आकांक्षीलगायत व्यक्तिहरु काठमाडौं जानेछन् ।

उनीहरुले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्रीलगायत शीर्ष नेताहरुलाई भेटेर पोखरा महानगरपालिका कुनै हालतमा नछोड्न दबाब दिने कार्यक्रम रहेको थापाले बताए ।

अहिले कांग्रेसमा दर्जनबढी आकांक्षी पोखराको नेतृत्व लिन तयार छ्न् । उनीहरु आफ्नो पक्षमा लविङ् गरिरहेको छन् । यता गठबन्धन गर्ने केन्द्रको निणर्यले कांग्रेसले नै नेतृत्व नपाउने हो कि भन्ने अन्योलताबीच सबै आकांक्षीसहितको टोली राजधानी जाने र दबाब दिने कार्यक्रम छ । यता एमालेले मंगलबार नै महानगरको उमेदवार सिफारिस गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७