मानिसका ४६ थान हड्डीसहित भारतीय विद्यार्थी पक्राउ


२९ चैत्र २०७८, मंगलवार
haddi

मोरङ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत एक भारतीय विद्यार्थी मानवको टाउकोलगायत विभिन्न ४६ वटा हड्डीसहित रानी नाकाबाट मंगलबार पक्राउ परेका छन् ।

प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत भारतको विहार प्रदेशस्थित पूर्णिया जिल्लाको पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा पक्राउ परेका हुन् । सिन्हा रिक्सामा विभिन्न सामग्रीका साथै एउटा कार्टुनसहित भारततर्फ जाँदै गरेको अवस्थामा विराटनगर १५ रानीस्थित मुख्य भन्सार नाकामा खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो ।

सिन्हालाई शंका लागेर जाँच गर्दा मानवको टाउकोलगायत विभन्न हड्डी बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले बताए । कार्टुनबाट मानवको टाउको, खुट्टाको हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङको हड्डी ७ वटा, काँधको हड्डी २ वटा, ढाँड, औंला, कुर्कुचाको ८/८ वटा हड्डी, घाँटी, हिप र बंगाराको १/१ वटा हड्डी बरामद भएको उनले बताए ।

सशस्त्र प्रहरीले कारबाहीका लागि इलाका प्रहरी रानीमा बरामद गरिएका हड्डी र सिन्हालाई प्रहरी समक्ष बुझाएको छ । सिन्हाले भने एमबीबीएस अध्ययन पूरा हुने समय भएकाले अध्ययनका लागि यसअघि एमबीबीएस गरेका साथीहरुले दिएको मानव टाउको र हड्डी लिएर घर जाँदै गरेको प्रतिक्रिया दिएका छन् । यसअघि पनि सशस्त्र प्रहरीले २०७८ असोज १८ गते रानीस्थित २ नम्बर ढाठबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७