माओवादीले हालका उपमेयर र उपाध्यक्षलाई अध्यक्ष र मेयरमा उठाउँछ : वर्षमान पुन

‘गठबन्धनका कारण महिला सहभागिता कम हुन दिँदैनौं’


२९ चैत्र २०७८, मंगलवार
Barsaman Pun


काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले उपमेयर र उपाध्यक्ष रहेका महिलालाई मेयर र अध्यक्ष पदको उम्मेदवारमा प्राथमिकता दिने नीति लिएको बताएका छन् ।

केन्द्रीय कार्यालय इन्चार्ज समेत रहेका उनले समावेशीकरणको सिद्धान्तअनुसार महिलाहरुलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिन लागिएको जानकारी दिए । उपमेयर र उपाध्यक्ष चलाएका महिलालाई मेयर र अध्यक्षमा टिकट दिनुपर्छ भन्ने माग र सुझाव आएको र त्यसमा पार्टी नेतृत्व सकारात्मक रहेको उनको भनाइ छ । पुनले सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्दा स्थानीय तहमा दुईमध्ये एक प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने संविधानको प्रावधान कार्यान्वयन नहुने हो कि भन्ने आशंका बढेको भन्दै त्यसमा आफूहरु सचेत रहेको बताए ।

‘गठबन्धन गर्दा एउटा पार्टीको एक मात्र उम्मेदवार हुने अवस्थामा सबैतिर पुरुष आउने हो कि भन्ने चिन्ता छ,’ स्थानीय तह निर्वाचनमा महिला सहभागिता बढाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाउन माओवादी मुख्यालय पेरिसडाँडा पुगेका महिला अधिकारवादी संस्थाका प्रतिनिधिसँग मंगलबार पुनले भने, ‘त्यसलाई हामी ब्यालेन्स गर्छौं, म आफै गठबन्धनको संयन्त्रमा छु । गठबन्धनका कारणले महिला सहभागिता कम हुन दिँदैनौं ।’

नेता पुनले संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला अनिर्वाय गरेको भन्दै आफ्नो दलले त्यसलाई बढाएर कम्तिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने नीति लिएको जनाए । ‘हामीले सबै तहका पार्टी कमिटीहरुमा संविधानले व्यवस्था गरेभन्दा बढी ३५ प्रतिशत महिला सहभागिता गराएका छौं,’ पुनले थपे ‘महिला र समावेशीकरणको मुद्दा उठान गर्ने पार्टी भएकाले हामीले व्यवहारबाटै अरुभन्दा प्रगतिशील भएको पुष्टि गरेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७