काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न अझै केही दिन लाग्ने


३० चैत्र २०७८, बुधबार
fohor

काठमाडौं । दश दिनपछि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पुर्‍याउन अझै केही दिन लाग्ने जनाइएको छ ।

तारकेश्वर नगरपालिकाको मुड्खु-तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौं उपत्यकाबाट फोहर व्यवस्थापन लागि सिसडोल जान रोकेका थिए । सोमबारदेखि फोहरको गाडी सिसडोल जान थालेको भए पनि लामो समयदेखिको रोकिएको फोहर व्यवस्थापन हुन भने समय लाग्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीय र ठेकेदार कम्पनीबीच सडक मर्मतको काम तत्काल गर्ने सहमति भएपछि सोमबारदेखि फोहर लान थालिएको हो । पछिल्लो समय १० दिन फोहर नउठेको भए पनि गत फागुनमा पनि स्थानीयको अवरोधका कारण १९ दिन फोहर सडकमै रह्यो । गत फागुन १ देखि पनि तीन पिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिन अवरोध गरेका थिए ।

फागुन अन्तिम साता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले एक हप्ता फोहोर फाल्न रोकेका थिए भने गत १८ चैतमा फेरि अवरोध भएको हो । आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएको नुवाकोट जाने पासाङल्हामु राजमार्ग सडक अहिलेसम्म बनाएको छैन । समयमा नै काम नभएको भन्दै स्थानीय बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहर व्यवस्थापन हुन नसकेको हो ।

कामपा वातावरण विभाग प्रमुख सरिता राई हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको बताउँछिन् ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७