नेताहरुको घरमा नोट थन्किँदा देशमा आर्थिक संकट आयो : राजेन्द्र लिङ्देन


३० चैत्र २०७८, बुधबार
rajendra lingden

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरु र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलबार वीरगञ्जमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका हुन् ।

नेताहरुले कमिशन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनु पर्ने भएकाले घरमै थन्क्याएका उनले जिकिर गरे । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर-घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिनु पर्ने बताए ।

आफ्नै जिवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरुले पार्टी र नेता फेर्ने बेला आएको बताउँदै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले, माओवादी र मधेशवादी दललाई मत दिएर देश बन्नु भनेको दूधका लागि साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरे । उनले देशका ठूला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पुर्‍याएको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७