प्रधानमन्त्रीले विप्लवलाई भने, ‘निर्वाचन प्रक्रिया अघि बढिसक्यो, अब सहभागी गराउन सकिन्न’


३० चैत्र २०७८, बुधबार
deuba biplop 20220311133836

काठमाडौं । नेकपाका महासचिब नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज (बुधबार) भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता भएको हो । भेटमा विप्लवले स्थानीय तहको निर्वाचनमा सहभागी हुने वातावरण बनाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको प्रक्रिया धेरै अगाडि बढिसकेकाले अहिले सहभागी गराउन कठिन भएको जवाफ दिएका थिए ।

प्रधानमन्त्रीले संघ र प्रदेशको निर्वाचनमा दल दर्तालगायतका प्रक्रिया पूरा गरेर अघि बढ्न विप्लवलाई सुझाव दिएका थिए । भेटमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको नेकपाका एक नेताले जानकारी दिए ।

नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन उपयोग गर्ने रणनीति लिएको थियो । केही दिनअघि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ दल दर्तालगायतका विषयमा छलफल गर्न निर्वाचन आयोग पुगेका थिए । नेकपाभित्र विप्लव र प्रकाण्ड चुनावको उपयोग गर्ने पक्षमा छन् भने हेमन्तप्रकाश वली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला चुनाव बहिष्कार गर्ने अडानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७