भुटुन-चिउरा र फलामका अक्षर


७ बैशाख २०७९, बुधबार

मेरा दुःख सुखमा सर्वदा सामेल हुने एक सेट साथीहरु छन् । ती मेरा जीवनका ऊर्जा हुन्, सिर्जनशीलताका स्रोत हुन् । तिनको बेहिसाब हार्दिकता मेरो जिन्दगीको यति विशाल आर्जन हो कि यसले फोब्र्सको सूचीको उपल्ला सिंढीमा विराजमान एलन मस्क र बिल गेट्सहरुमा हीनभावना पैदा गराउन सक्छ । अर्बौं पृथ्वीवासीलाई गरिबीको भड्खालोमा जाकेर समृद्धिको चुली टेकेका ती निर्लज्ज र निर्दयीहरुसँग, मेरा साथीहरुको कदापि तुलना हुन सक्दैन, जो आफ्ना समस्त दुःख र सङ्घर्षसाथ स्वप्नशील जिन्दगी बाँचिरहेका छन् । जो पारिजात पढ्छन् र पारिजातलाई प्रेम गर्छन् ।

पारिजात— अपराजित पारिजात

पारिजातका अगाडि प्रायः गाँसिने यो अपराजिता भन्ने शब्द मलाई कसो कसो असहज लाग्छ । कता–कता पारिजातको योद्धापनलाई पितृसत्ताले स्त्रैण कित्तामा धकेली दिएर उनको अवमूल्यन गरेजस्तो । त्यसैले म उनलाई अपराजित पारिजात भन्छु । महिलाका निम्ति आकार वा यस्तै केही थपेर छुट्टै विशेषणहरुको किन इन्तजाम गर्नुपर्ने होला ? नायक भने भइहाल्थ्यो,नायिका किन भन्नुपर्ने होला ? गायिका,लेखिका किन भन्नुपर्ने होला ? विशेषणहरुको महिलाकरण सायद महिलालाई ‘साइज’मा राख्ने बद्राजनीति हो ।

पारिजात सिर्जन सम्मानका लागि म कति लायक मान्छे हुँ,कति सही मान्छे हुँ, कति योग्य मान्छे हुँ, म जान्दिनँ । यत्ति जान्दछु, मैले धेरथोर जे लेखेको छु, जीवनवादी आन्दोलनहरुका पक्षमा लेखेको छु, तिनमा सरिक हुन लेखेको छु, तिनमा सरिक भएर लेखेको छु । जसरी पारिजातको लेखन— ‘शिरीषको फूल’लगायत विचलन–पलायन–कुण्ठा–विसङ्गति जनाउकर्ता केही रचनालाई छोडेर— तमसद्वेषी र उज्यालो–अन्वेषी लेखन हो,मेरो लेखन पनि मेरो बुता बमोजिमको तमसद्वेषी र उज्यालो–अन्वेषी लेखन हो । बस् । यस दाबीमा कहीँकतै अहंकार झल्किए म यथोचित विनम्रतापूर्वक भन्छु— हरेक तानाशाही अन्धकारविरूद्ध सडकमा गोली थाप्न निक्लने कविताहरुको जुलुसमा मेरो पनि कविता हिँडेकाले मलाई यति दाबी गर्ने हक छ । र,मेरो यस दाबीमा मेरा एक सेट साथीहरुका तर्फबाट कुनै पृथक मत अभिलिखित छैन । 

मैले पारिजात सिर्जन सम्मान पाउने खबर सार्वजनिक भएको एकाध घण्टापछि नै हामी बागबजारस्थित उज्ज्वल पासाको सुप्रसिद्ध नेवार खाजा घरमा भेला भयौं । सुप्रसिद्ध किनभने, त्यहाँ सर्वश्री विमल निभा, नारायण ढकाल, भूपाल राई, श्रवण मुकारूङ, नारायण वाग्ले, राबत, राजु स्याङ्तान, शकुन्तला जोशी, आन्बिका गिरीलगायत ख्यातनाम कवि–लेखकहरु पुगेका छन् । खेदजन्य विषय के छ भने आफ्नो खाजा घरमा नेपाली वाङ्मयका कस्ता हस्तीहरु आइरहेका छन् ? उज्ज्वल पासालाई केही पनि थाहा छैन ।

त, हामीले त्यहाँको विशेष खाजा भुटुन–चिउरा खाएर पारिजात सिर्जन सम्मान सेलब्रेट गर्यौं । भुटुन मलाई विशिष्ट परिकार लाग्छ । बडो मेहनतपूर्वक सफा गर,राम्ररी काट, पकाउँदा आँचको सन्तुलनमा हेक्का राख । मानौं,मान्छेका सारा श्रम र शिल्पको भुटुनले परख र परीक्षण गर्छ । जनपक्षीय लेखकको नामसँग जोडिएको सम्मान मैले प्राप्त गर्नु र जनपक्षीय खाजा भुटुन–चिउरा खाएर साथीहरुसँग उत्सव मनाउनु,म पूर्णतः खुसीमा थिएँ ।      

त्यसपछि बधाईको ओइरो लाग्यो । देशका सातै प्रदेशबाट बधाई आयो,विदेशबाट आयो । कतार,यूएई,अस्टे«लियाबाट आयो । तर,मनबाट एक बित्ताको पनि दूरीमा नरहेको एक जना प्रिय साथीबाट बधाई आएन । सम्मान घोषणाको दुई तीन दिनपछि अचानक फोन आयो,तर बधाई आएन । उसले नसहितसहित भन्यो, ‘कविहरुले पुरस्कार पाए भने मलाई डर लाग्छ । कुरा त बुझ्यौ होला ?’

म उसको कुरा बुझ्दछु । उसको डर बुझ्दछु । पुरस्कारले मलाई बिगार्ला भन्ने उसको चिन्ता पनि बुझ्दछु । पुरस्कार आधारभूत रुपमा असल चिज हो कि खराब ?मलाई थाहा छैन । किनभने,यो पुरस्कार विभागमा म नयाँ–नयाँ रिक्रुट हुँ,रिकुटे भन्छन् नि पहाडतिरको भाषामा । त्यो साथीको नाम मैले भनिदिनैपर्छ । नेपाली कविताको राम्रो पाठक हो ऊ । र,उसको नाम उज्ज्वल प्रसाई हो ।

ठीक यतिखेर म चौतर्फी सङ्कटमा छु । मान्छेका रुपमा, कविका रुपमा, लेखकका रुपमा । भात–रोटीको आदिम सङ्कट छँदै छ । वैचारिक रुपले आफूलाई जोगाउनुपर्ने सङ्कट छँदै छ । पल प्रतिपल प्रतिगामी बन्दै गइरहेको समाज छ,एकातिर । तर, पारिजातले बेहोरेका संकटहरुका तुलनामा मेरा संकट के हुन् र ?

पारिजात मलाई फिनिक्स चराजस्तो लाग्छ । ‘शिरीषको फूल’को खरानीबाट ‘अनिंदो पहाडसँगै’का रुपमा उनी पुनः जन्मिइन् । अनि,त्यसपछि चैत्र ३ को त्यो अदम्य साहस । कालो पट्टीको हतियारले सत्तासँग भिडेको त्यो दिन,उनले सारा नेपाली वाङ्मयको शिर उँचो बनाइदिइन् ।

पारिजातलाई मैले भेट्न पाइनँ । आहुतिको चहकिलो स्मृति–लेख ‘मैले भेटेका नौ बहिनी पारिजात’को आलोकमा यति चाहिं अनुमान गर्न सक्छु,उनी मेरी दिवंगत दिदीजस्तै मायालु थिइन् । यसरी पनि म उनीसँग मनोजगतमा जोडिएँ ।

अघि नै भनें,म चौतर्फी सङ्कटमा छु ।

त्यसमाथि अब अर्को सङ्कट थपिएको छ— पारिजात सिर्जन सम्मान । पारिजातजस्तो विराट प्रतिभा,उदात्त र भव्य मान्छेको नामसँग जोडिनु मेरा निम्ति सङ्कटसिबाय अरु के हुन सक्ला ?   

मेरो समयका गुमनाम चोक र गल्लीहरुका मौखिक इतिहासमा अब मेरो नाम पनि फलामका अक्षरमा उच्चारण गरिनेछन् ।

फलामका अक्षरमा किनभने,

मलाई ‘सुन’मा कुनै पनि खालको अभिरूचि छैन ।

मेरा साथीहरु हो,अब तिमीहरुका काँधमा पनि एउटा जिम्मेवारी आइपरेको छ । मलाई खिया लाग्नबाट जोगाउने जिम्मेवारी । त्यसका निम्ति तिमीहरुले मलाई सिर्जनशील क्रियाशीलताका निम्ति हर पल दबाब दिइरहनुपर्छ । भुटुन–चिउरालाई साक्षी राखेर यति काम तिमीहरुले गरिदिनैपर्छ । अन्तमा पारिजात स्मृति केन्द्रलाई धन्यवाद ।

२०७९ वैशाख ५ गते पारिजात सृजन सम्मान ग्रहण गरिसकेपछि व्यक्त मन्तव्य

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७