प्रदेश-१ मा तीन लाख नयाँ मतदाता थपिए


८ बैशाख २०७९, बिहीबार
chunab matadan2019 11 26 07 18 57

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन कार्यालय र राजनीतिक दलहरुलाई भ्याइनभ्याई भइरहेको अवस्था छ । प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडा सदस्यहरु निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

आगामी स्थानीय तहको निर्वाचनमा प्रदेशभरिमा नयाँ मतदाता तीन लाख ५१ हजार ६१० जनाले पहिलोपटक आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा कूल २९ लाख ९३ हजार ७७४ जनाले आ-आफ्ना मताधिकार प्रयोग गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि बनेका नयाँ राजनीतिक संरचनामा स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन दोस्रो हो ।

आफ्ना मन परेका राजनीतिक दल र प्रतिनिधिहरुलाई मतबाट विजय बनाउने क्रियाकलापमा स्थानीय तहमा नागरिकहरु कस्सिएर लागेको देखिन्छ । अनेक सम्भावना र आकांक्षा बोकेको जनताको आवाज र भावनालाई प्रतिविम्बित गर्न कुनै कसर बाँकी नराख्ने राजनीतिक दलले जनताका माझमा गएर बताइरहेका छन् ।

कतिपय उम्मेदवार हुन चाहने तर राजनीतिक दलले टिकट नदिने सम्भावना देखिएपछि दल परिवर्तन गर्ने मानिसहरुको लर्को हेरेर पनि अनुमान लगाउन सकिन्छ कि मुलुक अहिले निर्वाचनमय भएको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष, स्वतन्त्र बनाउन प्रदेश निर्वाचन कार्यालय विराटनगरले जिल्लामा निर्वाचन अधिकृतको कार्यालयलाई विभिन्न अनुसूची, मतदाता नामावली (सादा), दस्तखत नमूना, नमूना मत पठाउने कार्य आजदेखि सुरु गरेको छ ।

यसअघि कार्यालय प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, राजनीतिक दललगायत अन्य वर्गमा पनि निर्वाचनमा पालना गर्नुपर्ने आचारसंहिताका विषय गम्भीर छलफल एवं बहस पनि सम्पन्न गरेको छ । प्रदेशका सम्पूणर् स्थानीय तहमा निर्वाचन अधिकृत खटिएको र भोलि प्रदेशभरि जिल्ला निर्वाचन अधिकृत तथा स्थानीय पालिका निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रदेशमा १६ लाख ९९ हजार ८०० पुरुष, महिला १६ लाख ४५ हजार ५६१ र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाताले निर्वाचनमा आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन् ।

प्रदेशमा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ केन्द्र छन् । प्रदेशमा रहेका १४ जिल्लामा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्ने कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए । जिल्लागत हेर्दा ताप्लेजुङमा पुरुष ४७ हजार ५५ र महिला ४२ हजार २५ गरी ८९ हजार ६८० मतदाताले ७३ मतदानस्थल र १२२ मतदान केन्द्र, पाँचथरमा पुरुष ७३ हजार ५७८ र महिला ६६ हजार ६४८ गरी एक लाख ४० हजार २२४ मतदाता रहेका छन् । जिल्लामा १०१ मतदानस्थल र १७६ मतदान केन्द्र छन् ।

इलाममा पुरुष एक लाख ५५ हजार ५५४ र महिला एक लाख नौ हजार १९२, अन्य दुई गरी जम्मा दुई लाख २४ हजार ७४८ मतदाता, १५१ मतदानस्थल र २८५ मतदान केन्द्र छन् । यस्तै झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता, २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र छन् ।

संखुवासभामा पुरुष ६० हजार ६७८, महिला ५७ हजार ५३ गरी जम्मा एक लाख १७ हजार ७३१ मतदाताका लागि १०३ मतदानस्थल र १६२ मतदान केन्द्र निर्धारण गरिएको छ । तेह्रथुममा पुरुष ३६ हजार ९७३ महिला ३५ हजार ९२२ गरी जम्मा ७२ हजार ८९५ मतदाता, ५७ मतदानस्थल र ९५ मतदान केन्द छन् । भोजपुरमा पुरुष ६५ हजार २२१, महिला ७० हजार ७०४ र अन्य एक गरी जम्मा एक लाख २५ हजार ९२६ मतदाताका लागि ८७ मतदानस्थल १६० मतदान केन्द्र तोकिएको छ ।

यस्तै धनकुटामा पुरुष ५७ हजार ७१६, महिला ५८ हजार २४८ जना गरी जम्मा एक लाख १५ हजार ९६४ मतदाता, ११८ मतदानस्थल र १५९ मतदान केन्द्र कायम भएको बताइएको छ । मोरङमा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ गरी जम्मा सात लाख १५ हजार २२३ मतदाताका लागि जनाले तीन सय मतदानस्थल ३०० र केन्द्र ८२० कायम भएको छ ।

सुनसरीमा पुरुष दुई लाख ६९ हजार १४६, महिला दुई लाख ७५ हजार ७१७ र अन्य दुई गरी जम्मा पाँच लाख ३४ हजार ७६५ मतदाताका लागि १६६ मतदान स्थल र ५८१ केन्द्र निर्धारण भएको छ । सोलुखुम्बुमा पुरुष ४१ हजार २६०, महिला ३८ हजार ७५९ गरी जम्मा ८० हजार १९ जनाका लागि १२२ मतदानस्थल र १३४ केन्द्र व्यवस्था गरिएको छ ।

खोटाङमा पुरुष ७५ हजार छ र महिला ६८ हजार ७४६ गरी एक लाख ४३ हजार ७५२ जनाका लागि १३६ मतदानस्थल र १९४ केन्द्र तोकिएको छ । ओखलढुङ्गामा पुरुष ५९ हजार १६२, महिला ५७ हजार ९२२ र अन्य एक गरी एक लाख ७० हजार ८५ मतदाताका लागि ७९ मतदानस्थल र १५० केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

यसैगरी उदयपुरमा पुरुष एक लाख १२ हजार ८८५, महिला एक लाख १० हजार २५१ र अन्य दुई गरी दुई लाख २३ हजार ३८ जनाले ९८ मतदानस्थल र २५८ मतदान केन्द्र प्रयोग गर्ने भएका छन् । प्रदेशमामा सबैभन्दा ज्यादा मतदाता मोरङ जिल्लामा सात लाख १५ हजार २२३ रहेको छ भने सबैभन्दा कम तेह्रथुममा ७२ हजार ८९५ रहेको सूचना अधिकारीले बताएका छन् ।

एक मात्र महानगरपालिका रहेको प्रदेशको विराटनगर महानगरपालिमा पुरुष ७० हजार ५२४, महिला ६२ हजार ७१८ गरी एक लाख लाख ३३ हजार १४२ मतदाताका लागि मतदानस्थल २९ र मतदान केन्द्र १४० छन् । मोरङ जिल्लामा एक लाख ४० हजार नयाँ मतदाता थपिएका छन् । जसमा पुरुष ७१ हजार ९५४, महिला ६८ हजार ७६४ र अन्य छ छन् भने विराटनगर महानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा यस वर्ष पुरुष नौ हजार ९९८ र महिला नौ हजार ३९३ गरी १९ हजार ३९१ जना मतदाता थप भएको सूचना अधिकारी तीर्थले बताए ।

निर्वाचनलाई उत्साहमय बनाउन तथा स्वतन्त्र, भयरहित, निष्पक्ष, मितव्ययी एवं धाँधलीरहित सम्पन्न गर्नका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुले मतदानस्थल र मतदान केन्द्रहरुको अनुगमन एवं निरीक्षण गरी सुरक्षाका सबै उपाय अपनाउने मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।

उनले निर्वाचनका दिन मतदान केन्द्र र मतदानस्थललाई भयरहित एवं सुरक्षाको पूणर् अनुभूति दिलाउन तीन घेरामा जनपद प्रहरी, सशस्त्र र नेपाली सेना रहने तथा कुनै अप्रिय घटना हुने सम्भावना भएमा आधा घण्टाभित्र सेनासहितका सुरक्षा टोली पुग्ने तयारीका साथ अघि बढिरहेको जानकारी दिए ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले आगामी निर्वाचनका लागि सबै कार्यक्रम र तालिकाहरु सार्वजनिक भइसकेको जानकारी दिँदै निर्वाचनमा नागरिकदेखि राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र मतदातासमेतले निर्वाचन आचारसंहिता पालनामा इमान्दारिता देखाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७