थपिएका ३५ लाख नयाँ र असंगठित मतदातामा एमालेको अभूतपूर्व आकर्षण छ : शंकर पोखरेल (अन्तर्वार्ता)


८ बैशाख २०७९, बिहीबार
Shankar Pokharel

३० बैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरु जुटेका छन् । खासगरी ५ दलीय सत्तागठबन्धन स्थानीय तहको सिट बाँडफाडमा केन्द्रीत भएको बेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने देशभरी चुनाव केन्द्रीत ठुला सभाहरु गरीरहेका छन् । तुलनात्मक रुपमा चुनावी अभियानमा नेकपा (एमाले) आक्रमक देखिएको छ । स्थानीय तहको निर्वाचनको लागि नेकपा (एमाले)को तयारीको सन्दर्भमा नेकपा (एमाले) महासचिव शंकर पोखरेलसँग गरिएको संवाद :

स्थानीय तह निर्वाचनको तयारी कसरी अघि बढिरहेको छ ?
निर्वाचनको तयारी भन्ने वित्तिकै दुई ओटा विषय मुख्य रुपमा रहने गर्छन् । पहिलो भनेको चुनावी घोषणापत्र र चुनावी प्रतिवद्धतापत्र अनि दोस्रो भनेको उम्मेदवार चयन । दुबै कामलाई हामीले तिव्रताका साथ अघि बढाइरहेका छौँ । स्थानीय पालिका र जिल्लाहरुले सिफारिस गर्ने काम आधारभूत रुपमा सम्पन्न भएको छ । अब हामी प्रदेश कमिटी र केन्द्रीय कमिटीका माध्ययमबाट छिटो निर्णय लिएर अघि बढ्छौँ । पालिका प्रमुख–उपप्रमुखको हकमा प्रदेश केन्द्रीय तहबाट हामी निरुपण गर्छौं । वडाध्यक्षको हकमा हामीले जिल्ला कमिटीलाई जिम्मा लगाएका छौँ । त्यो उहाँहरुबाटै निरुपण हुन्छ । यसरी हेर्दा हामीले एक प्रकारले भन्ने हो भने तयारीको काम सम्पन्न गरेका छौँ ।

चुनावी घोषणापत्रको तयारीका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कमिटी बनाएका छौँ । त्यसले तयार पारेको मस्यौदालाई छलफलसहित सचिवालयको बैठकले पारित गरेको छ । त्यसलाई वैशाख ९ गते पार्टी स्थापना दिवसका दिन सार्वजनिक गर्ने तयारी भएको छ । त्यहि दिन प्रत्येक पालिकाबाट प्रतिवद्धतापत्र सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

स्थानीय तहको उम्मेदवार छनोटको मापदण्ड के बनाउनु भएको छ ?

केन्द्रीय कमिटीको बैठकबाट उम्मेदवार छनोटका छ ओटा मापदण्ड निर्धारण गरेर पठाएका छौँ । त्यसमा सबैभन्दा पहिलो निर्वाचन जित्ने कुरालाई आधार बनाएका छौँ । अर्को महत्वपूर्ण विषयका रुपमा विगतमा जनप्रतिनिधि रहेका कमरेडहरुको कार्यसम्पादन मूल्याङ्कनलाई पनि उम्मेदवार छनोटको आधार बनाएका छौँ । स्थानीय तहको निर्वाचन भएका कारण प्रशासनका मामिलामा, विकासका मामिलामा जनसम्र्पक र जनसेवाका सवालमा काम गर्ने क्षमतालाई पनि हामीले आधार बनाएका छौँ । राजनीतिक आन्दोलनप्रतिको निष्ठा र पार्टीप्रतिको समर्पणलाई पनि हामीले आधार बनाएका छौँ । यी र यस्ता विषयलाई केन्द्रविन्दुमा राखेर हामीले उम्मेदवार छनोटको आधार बनाएका छौँ ।

पछिल्लो समय नेकपा (एमाले) प्रति मतदाता र जनताको आकर्षण बढेको देखिन्छ । नेताहरुले पनि त्यहि भन्ने गर्नुभएको छ । तपाईं आफूले चाहीँ कस्तो ठान्नु भएको छ ?

हामी पछिल्लो समय जनताका बीचमा जहाँ पुग्छौँ त्यहाँका जनताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । तपाईंहरुले पनि अनुभव गर्नुभएका होला । जहाँ जहाँ हाम्रो पार्टी अध्यक्ष पुग्नुभएको छ, त्यहाँ त्यहाँ असाधारण र ऐतिहासिक सभा हुने गरेका छन् । कार्यकर्ता पङ्क्तिको सहभागिताको कुरा गर्दा आयोजना गर्ने मिटिङ, बैठक र भेलाहरुमा विगतका तुलनामा सहभागिताको प्रतिशत गुणात्मक रुपमा वृद्धि भएको छ । तराई–मधेससँगै मुलुकभरि नै जनस्तरबाटै एमालेप्रति अभूतपूर्वरुपले आकर्षण बढेको छ । पहिला–पहिला हामीले कार्यक्रम आयोजना गर्दा ६०–७० प्रतिशत कार्यकर्ताको सहभागिता हुने गथ्र्यो । अहिले झण्डै शतप्रतिशत कार्यकर्ता र मतदाताको सहभागिता हुने गरेको छ । यो भनेको पार्टीप्रतिको आकर्षण कार्यकर्ता र जनस्तरमा पनि बढेको छ भन्ने प्रमाण हो । विगतमा खास गरेर तराई–मधेसको सन्दर्भमा एमालेलाई आइसोलेसनमा राख्ने प्रयास भएका थिए । अहिले ती ठाउँमा एमालेप्रति अभूतपूर्वरुपले आकर्षण बढेको छ । निर्वाचित जनप्रतिनिधि समेत अहिले दल छाडेर नेकपा (एमाले)को पक्षमा उभिन थाल्नुभएको छ ।

पहिला–पहिला हामीले कार्यक्रम आयोजना गर्दा ६०–७० प्रतिशत कार्यकर्ताको सहभागिता हुने गथ्र्यो । अहिले झण्डै शतप्रतिशत कार्यकर्ता र मतदाताको सहभागिता हुने गरेको छ ।

त्यो हुनुको खास कारणचाहीँ के रहेछ ?

त्यो प्रकारको आकर्षणको आधार भनेको हाम्रो पार्टी अध्यक्षको नेतृत्वको सरकार रहेका बेला तराई–मधेसका समस्या समाधान गर्ने सन्दर्भमा हामीले जुन प्रकारको नीति अवलम्बन ग¥यौं, त्यसको प्रभाव हो भन्ने बुझ्न जरुरी छ । कुनै समय अध्यक्ष केपी शर्मा ओली र नेकपा (एमाले) लाई तराई–मधेसमा निषेधको राजनीति गर्ने प्रयास भएको थियो । एमालेले त्यसलाई तोड्दै सहकार्यको राजनीति अवलम्बन गरेर सम्बोधन गर्ने प्रयास गर्यौं । संविधानप्रति नै असहमति व्यक्त गर्दै आउनुभएका उपेन्द्र यादव, महन्थ ठाकुरहरुलाई हामीले तपाईंहरुका मुद्धा सम्वोधन गर्ने हामीले नै हो भनेर सरकारमा सहभागी गरायौँ र सम्बोधन गर्न सुरुवात पनि गर्यौँ । उहाँहरुलाई हामीले सरकारमा पनि सहभागी गरायौँ । मूलधारको राजनीति भन्दा बाहिरको राजनीति गरिरहेकाहरुलाई पनि हामीले मूलधारको राजनीतिमा ल्याउने सफलता प्राप्त गर्यौँ ।

विखण्डनको राजनीतिक एजेण्डा बोकेर हिडेको सिके राउत समूहलाई संवैधानिक दायरा अर्थात मूलधारको राजनीतिमा ल्याउन सफलता हासिल गर्र्यौ । हिंसालाई राजनीतिको माध्यम बनाइरहेको नेकपा विप्लव समूहलाई पनि मूलधारको राजनीतिमा ल्याउन सफलता हासिल गर्यौँ । त्यति मात्रै होइन परम्परागत राजतन्त्रको पक्षमा उभिएको राप्रपा नेपालका नेता कमल थापालाई पनि हामीले गणतन्त्रको धारमा ल्याउन सफलता हासिल गर्यौँ । यो प्रकारको सफलता नेकपा (एमाले) को विकास हो भन्ने कुराको पुष्टि हुन्छ । हामी सरकारमा रहेका बेलामा होस् या नरहेको बेला मुलुकका समस्या समाधानको पहलकदमी लिने पार्टी नेकपा एमाले मात्रै हो भन्ने पुष्टि गरेका छौँ । यो आकर्षण तराई–मधेसका जनतामा पनि रह्यो भन्ने हामीले ठानेका छौँ ।

तराई–मधेसको विकास र समृद्धिका सन्दर्भमा एमालेले अघि सारेका विकासका आयोजनाले पनि एमालेप्रतिको आकर्षण बढेको प्रष्ट हुन्छ । हुलाकी सडकका कुरा गर्नुहोस् अथवा तराईका २२ जिल्लाको आधुनिकीकरणका सन्दर्भमा हामीले अघि बढाएको सहरी विकास कार्यक्रमको सन्दर्भको कुरा गरौँ यी सबैले एमालेप्रति आकर्षण बढेको छ । तराई मधेसको समृद्धिको कुरा होस् या तराईकोे कृषि भूमिको सिंचाइलगायतको प्रभावले पनि एमालेप्रतिको आकर्षण बढेको हो । तराईलाई राजधानीसँग जोड्न फाष्टट्याक निर्माणको काम, पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विकास र विस्तार गर्ने काम, हुलाकी सडकलाई समयमा सम्पन्न गर्नका लागि पहल कदमी लिने र पूर्व–पश्चिम रेलवे मार्ग विस्तार गर्ने घोषणा, बन्द भएको रेलवे परियोजनालाई सुचारु गर्ने कुरामा हामीले जुन प्रकारको भूमिका निर्वाह गर्यौ त्यसको गहिरो प्रभाव तराई–मधेसमा परेको छ ।

Shankar Pokhrel 1

तपाईंहरुले अहिले नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गरिरहनु भएको छ, त्यो सम्भव छ ?

नेकपा (एमाले) पहिलो पार्टी बन्छ भन्ने होइन, अहिले नै पहिलो पार्टी छ । पहिलो पार्टी हुँदाको अवस्थामा पनि हामीलाई घेराबन्दीमा राखेर केन्द्रीय सरकारबाट अलग गरिएको अवस्था छ । यो मुलुकको नेतृत्व गर्न सक्ने पार्टी जसले देशको स्वाधीनता र स्वाभिमानको नेतृत्व गर्यो । जसले विकास र समृद्धिको नेतृत्व गर्यो, त्यसलाई बाहिर राख्ने जुन प्रकारको अवाञ्छित प्रयास भएको छ, त्यो प्रयासलाई त्यतिबेला मात्रै असफल बनाउन सकिन्छ जतिबेला नेकपा (एमाले) को बहुमत प्राप्त हुन्छ । म के चाहन्छु भने आउने तीन तहका निर्वाचनहरुका माध्यमबाट फेरि नेकपा एमाले मुलुकको नेतृत्वकर्ता पार्टीका रुपमा आउने छ ।
हाम्रो पार्टी अध्यक्षले भन्ने गरेको परमादेशलाई जनादेशबाट विस्थापन गर्ने प्रक्रियाका रुपमा हामी अघि बढ्न सफल हुन्छौँ र मुलुकको नेतृत्व गर्ने पार्टीका रुपमा नेकपा (एमाले)लाई स्थापित गर्छौ ।

अहिले तपाईंहरुले गठबन्धनसँग चुनाव लड्नुपर्ने चुनौती छ । त्यो चुनौतिलाई कसरी सामना गर्नुहुन्छ ?

गठबन्धन भनेको नेताहरुका बीचको गठबन्धन हो । जनताका बीचको गठबन्धनमा यसको खासै अर्थ होला जस्तो लाग्दैन । त्यस अर्थमा भन्ने हो भने हामीले जनताका एजेण्डा बोकिरहेका छौँ । जनताका पक्षमा हामीले विकासको काम गरिरहेका छौँ । हाम्रो जुन प्रकारको समर्पण छ त्यसलाई जनताले गहिरो गरी आत्मसात गरेका छन् भन्ने हामीले ठानेका छौँ । त्यसैले जनताले परिवर्तन चाहेको अवस्थामा नेताको गठबन्धनले त्यसलाई रोक्न सक्दैन । आज नेकपा (एमाले)को पक्षमा जुन प्रकारको जनलहर देखा परेको छ, त्यसले के देखाउँछ भने कुनै पनि गठबन्धनले नेकपा (एमाले)को विजययात्रालाई रोक्न सक्दैन । त्यो विजययात्रा जनताको बलमा सफल हुँदैछ भन्ने कुरा हामीलाई अनुभूति भैरहेको छ । त्यसैले गठबन्धन भएर आउन वित्तिकै हामी पछाडि हट्नुपर्ने कुनै अवस्था छैन । हामी उत्साहका साथ गठबन्धनलाई सामना गर्ने गरी अघि बढेका छौँ ।

नेपालको राजनीतिकभित्र भविश्यमा हामी कहाँ जान्छौ भन्नेमा प्रष्ट छौँ । गठबन्धनको कुनै राजनीतिक भविश्य छैन । त्यसको न उद्देश्य छ, न लक्ष्य छ, न गन्तव्य छ । तर, हाम्रो स्पष्ट भविश्य छ, उद्देश्य छ, लक्ष्य छ, गन्तव्य छ । त्यो भनेको हामी समाजवादको आधार तयार गर्न चाहन्छौ र हाम्रो लक्ष्य समाजवाद हो ।

तपाईंहरु के–कस्ता एजेण्डा बोकेर चुनावमा जाँदै हुनुहुन्छ ?

नेपालको राजनीतिमा चार ओटा विषय केन्द्रीय प्रश्नका रुपमा उपस्थित हुने गर्छन् । पहिलो भनेको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको प्रश्न हो । नेपालको राजनीतिमा यो अत्यन्त महत्वको विषयका रुपमा रहँदै आएको छ । हाम्रो पार्टी र हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा हामीले राष्ट्रियताका प्रश्नमा नाकाबन्दीको सामना गर्ने ऐतिहासिक कार्यभार पूरा गरेका छौँ । नेपालको गुमेको भूमिलाई समेटेर चुच्चे नक्शा प्रकाशित गर्ने ऐतिहासिक कामको नेतृत्व पनि हामीले गर्यौँ । संविधान संशोधनका माध्यमबाट त्यसलाई सर्वसम्मत रुपमा संविधानमा समावेश गर्ने ऐतिहासिक काम पनि हामीले गरेका छौँ । अब नेपालको नक्शा बदल्ने सामथ्र्य कस्को ? भन्ने विषय महत्वपूर्ण छ ।

दोस्रो, नेपाल भू–परिवेष्ठित मुलुक रहँदा–रहँदै पनि नेपालमा नाकाबन्दी नलाग्ने परिस्थिति सिर्जना गर्न र मुलुकलाई भूजडित मुलुकका रुपमा विकास गर्न धेरै महत्वपूर्ण काम गरेका छौँ । भारतसँग ‘पेन्डिङ’ मा रहेका धेरै काम हाम्रो पार्टी अध्यक्षले नेतृत्व गरेको सरकारले सम्वोधन गरेको छ । पेट्रोलियम पाइप लाइन निर्माण गरेर पेट्रोलियम पदार्थको ढुवानी गर्ने कुरा, नेपालमा भएको १८ घण्टे लोडसेडिङ अन्त्यका लागि विद्युत खरिद सम्झौता गर्ने, नेपालका सीमावर्ती क्षेत्रमा डुवानका समस्यालाई समाधनको प्रयास, पुराना सन्धि–सम्झौताको पुनरावलोकन गरी नेपाल–भारत सम्वन्धलाई नयाँ उचाईँका साथ अघि बढाउन विज्ञ समूह गठन गरी त्यसका माध्यमबाट रिपोर्ट तयार गर्नेसम्मका काम हाम्रो पालामा भएका छन् ।

भविष्यमा नाकाबन्दी लाग्न नसक्ने अवस्था निर्माण गर्नका लागि चीनसँग व्यापार पारवहन सम्झौता गरेका छौँ । त्योसँगै चिनियाँ बन्दरगाहलाई तेस्रो देशसँग व्यापारका लागि प्रयोग गर्ने सुनिश्चितासहित दीर्घकालीन विकास साझेदारीका लागि सम्झौता गर्ने काम गरेका छौँ । यो भनेको छिमेकीलाई प्राथमिकतामा राख्ने र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने माध्यमका रुपमा हामीले हाम्रो सरकार रहँदा काम गरेका छौँ ।

भनेपछि तपाईंहरुको पालामा परराष्ट्र नीतिमा पनि सकारात्मक पहल भए ?

निश्चय पनि, हाम्रो पालामा एक प्रकारले भन्ने हो भने परराष्ट्र नीतिमा नयाँ आयाम थप्ने काम गरेका छौँ ।

विकास र समृद्धिका सन्दर्भमा पनि केही महत्वपूर्ण काम भएका होलान नि ?

नेपालमा अधिकारमुखी राजनीतिलाई विकास र समृद्धिको राजनीतिमा बदल्ने कामको नेतृत्व पनि हाम्रै सरकारका पालामा भएको हो । त्यसैले विकास र समृद्धिको नायकका रुपमा अध्यक्ष केपी शर्मा ओलीले खेल्नु भएको भूमिकाबाट नेपालका राजनीतिक दलहरु तर्सिए र उनीहरुले घेराबन्दी गर्ने काम गरिरहेका छन् ।

नेकपाभित्रको अन्तरसङ्घर्ष पनि राम्रो काम गर्दाको परिणामका रुपमा आयो । जसरी सिंगापुरमा लिक्वान युका विरुद्धमा पार्टीभित्रै विरोध गर्ने प्रयास भएको थियो, त्यो इतिहासबाट पनि पाठ सिक्नुपर्छ । त्यति मात्रै होइन, मलेसिया बनाउने महाथिरका विरुद्धमा पनि पार्टीभित्रैबाट विद्रोह भएको थियो । नेकपाभित्र कमरेड केपी शर्मा ओलीको विरुद्धमा भएको विद्रोहलाई पनि त्यसै अनुसार लिनुपर्छ । त्यो कुरालाई हामीले हल गर्न सक्यौँ भने नेपाल बन्छ भन्ने विश्वास हामी जगाउन सक्छौँ ।
तेस्रो, नेपाललाई कस्तो प्रकारको शासन प्रणालीतर्फ लैजाने भन्ने सन्दर्भमा सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य व्यवस्थातर्फ सामाजिक सुरक्षाभत्ता, सामाजिक सुरक्षा कार्यक्रम, स्वास्थ्य वीमा, दीर्घरोगका लागि अनुदान जस्ता कामको माध्यमबाट लोककल्याणकारी राज्य व्यवस्थाको सकारात्मक माहौल अघि बढाएका छौँ ।

चौथो, नेपालको राजनीतिकभित्र भविश्यमा हामी कहाँ जान्छौ भन्नेमा प्रष्ट छौँ । गठबन्धनको कुनै राजनीतिक भविश्य छैन । त्यसको न उद्देश्य छ, न लक्ष्य छ, न गन्तव्य छ । तर, हाम्रो स्पष्ट भविश्य छ, उद्देश्य छ, लक्ष्य छ, गन्तव्य छ । त्यो भनेको हामी समाजवादको आधार तयार गर्न चाहन्छौ र हाम्रो लक्ष्य समाजवाद हो । तर, गठबन्धनको उदेश्य के– हो ? केही प्रष्ट छैन ।
नेपालको राजनीति जुन ढङ्गले विभाजित भएको छ । त्यसको एकतर्फको नेतृत्व कमरेड केपी शर्मा ओलीले गर्नुभएको छ भने अर्को समूहको नेतृत्व शेरबहादुर देउवाले गर्नुभएको छ । देउवाको गठबन्धनको नेतृत्वले देशलाई दक्षिणपन्थतर्फ लैजान्छ । हामीले नेतृत्व गरेको पार्टीले मुलुकलाई प्रगतिशीलतातर्फ लैजान्छ । मुलुकको विकास र समृद्धितर्फ लैजान्छ । मुद्दाहरु यि नै हुन् ।

सामान्य हिसावले क्षतिको पूर्ति हामीले गरिसकेका छौँ । हामी नेकपा (एमाले) का रुपमा रहँदा गठबन्धन पार्टीसँगै निर्वाचन लडेर मुलुकको पहिलो पार्टी बनेका थियौँ । त्यसकारण पनि हामीले गठबन्धनसँग डराउनुपर्ने किन छैन भने पहिला पनि हामी गठबन्धनसँगै चुनाव लडेका हौँ । सरकारको नेतृत्व काँग्रेस र माओवादीले गरेको समयमा हामी पहिलो शक्ति बनेका थियौँ भन्ने कुरालाई बिर्सनु हुँदैन ।

अहिले थपिएका ३५ लाख नयाँ मतदातामा हाम्रो पार्टी अध्यक्षको काम र अभिव्यक्तिबाट परेको सकारात्मक प्रभावले पनि नेकपा (एमाले) लाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने बलियो आधार हो

अहिले तपाईंहरु निर्वाचनमा जाँदै गर्दा एउटा असन्तुष्ट समूह बाहिरिएको छ । त्यो समूहसहितको गठबन्धन छ । त्यसको क्षतिपूर्ति कसरी गर्नुहुन्छ ?

अर्कोतर्फ साढे तीन वर्षको अवधिमा हामीले जे–जे काम गरेका छौँ । त्यसले असाधारण जनमत सिर्जना भएको छ त्यो कुरालाई पनि हामीले बुझ्नुपर्छ । हामीबाट चोइटिएर बनेको माधव नेपाल पक्ष छ । त्यसले कति क्षति पुर्यायो भन्ने कुरा नै महत्वपूर्ण हो भन्ने लाग्छ । दल विभाजनको अध्यादेशलाई हेर्ने हो भने पनि उहाँहरुको हैसियत २० प्रतिशत रहेछ । पहिला नेकपा माले बन्दा झण्डै ४० प्रतिशतको जनादेश विभाजन हुँदा त शून्य सिट ल्याउने पार्टीका रुपमा देखिनु पर्यो भने उहाँहरु जनप्रतिनिधिका माध्ययमबाट होइन केन्द्रीय कमिटीका माध्ययमबाट दल विभाजन गर्दा देखिएको २० प्रतिशत स्थानीय जनप्रतिनिधिमा जाँदा १० प्रतिशत र कार्यकर्ताका बीचमा जाँदा चार प्रतिशत र मतदाताको बीचमा जाँदा त्यो एक वा दुई प्रतिशतमा मात्रै रहने अवस्था छ । यसरी हेर्दा उहाँहरुले पुर्याउने क्षति भनेको तीन–चार लाखको हाराहारी हुन आउँछ । त्यो क्षति त हामीले माओवादी केन्द्रका तर्फबाट सजिलै पूर्ति गरिसकेका छौँ, बाँकी जनतामा पैदा भएको सकारात्मक प्रभाव हाम्रो अतिरिक्त जनमत हो ।

अहिले थपिएका ३५ लाख नयाँ मतदातामा हाम्रो पार्टी अध्यक्षको काम र अभिव्यक्तिबाट परेको सकारात्मक प्रभावले पनि नेकपा (एमाले) लाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने बलियो आधार हो भन्ने कुरा राख्न चाहन्छु । पछिल्लो समय पार्टी प्रवेशमा एउटा लहर चलेको छ । त्यसले पनि हाम्रो पार्टीलाई बलियो बनाउन थप सहयोग गरेको छ ।

एमालेको मत पहिला भन्दा बलियो छ भन्ने तपाईंको बुझाई हो ?

नेपालको सबैभन्दा व्यवस्थित पार्टी भनेको नै नेकपा (एमाले) हो । विचारको हिसावले, संगठनको हिसावले र राजनीतिका हिसावले एमाले एकतावद्ध छ । अहिले असंगठित मतदाताको पनि अभूतपूर्व आकर्षण एमालेलमै छ । पहिला–पहिला असंगठित मतदाता काँग्रेसको पक्षमा बढी छन् भन्ने एउटा भनाई थियो तर अहिले ती मतदाताको अभूतपूर्व आकर्षण एमालेप्रति छ । अहिले सभामा मात्रै एमालेको भीड देखिएको भन्नेहरु पनि छन् । त्यो होइन सभामा जति देखिएका छन् त्यो भन्दा बढी मतदाता एमालेको पक्षमा छन् । अहिले गठबन्धन दल चुनावबाट भाग्न खोज्दै छ हामी चुनावमा तान्न खोजिरहेका छौँ । त्यो भनेको जनमत हामीसँग छ भन्ने हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७