प्रदेश-१ मा २१ हजार ८ सय बढीको उम्मेदवारी


१३ बैशाख २०७९, मंगलवार
RabindraKafle Panchthar RSS 12

विराटनगर । यहि बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेश-१ बाट २१ हजार ८ सय बढीको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आज (मंगलबार) बिहान सार्वजनिक गरेको विवरण अनुसार १४ जिल्लाभित्र १३७ स्थानीय तह रहेको प्रदेशमा २१ हजार ८७९ जनाको उम्मेदवारी परेको हो ।

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मेयर (प्रमुख) पदमा ४ सय १९ जनाले उम्मेदवारी दिएका छन् । गाउँपालिकाको अध्यक्ष (प्रमुख) मा ४८९ जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै उपमेयर (उपप्रमुख) मा ३११ र गाउँपालिकाको उपाध्यक्ष (उपप्रमुख) मा ३९१ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा ५ हजार १७, महिला सदस्यमा ३ हजार ८ सय, दलित महिला सदस्यमा ३ हजार ४ सय ४ र खुला सदस्यमा ८ हजार ४८ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेश-१ निर्वाचन कार्यालय विराटनगरका प्रमुख एवं उपसचिव लेवन काश्यप अधिकारीका अनुसार उम्मेदवारी दिनेको संख्या अझै बढ्न सक्छ । उनले अहिलेसम्म प्राप्त भएको विवरणलाई अन्तिम मान्न नसकिने बताएका छन् । ‘प्राविधिक रूपमा तथ्यांक ‘अपडेट’ को काम भइरहेको छ । अन्तिम विवरण आउन बाँकी नै छ,’ अधिकारीले भने, ‘अहिलेसम्म प्राप्त भएको विवरणलाई अन्तिम मान्न सक्ने अवस्था छैन । उम्मेदवारी दिनेको संख्या बढ्न सक्छ ।’

प्रदेश-१ मा एक महानगर, दुई उपमहानगर, ४६ नगरपालिका तथा ८८ गाउँपालिका छन् । प्रदेशको एउटा मात्रै महानगरपालिका विराटनगर हो । सुनसरीको धरान र इटहरी उपमहानगरपालिकाहरु हुन् । ताप्लेजुङमा एक नगरपालिका र ८ गाउँपालिका, पाँचथरमा एक नगरपालिका र ७ गाउँपालिका, इलाममा ४ नगरपालिका र ६ गाउँपालिका, झापामा ८ नगरपालिका र ७ गाउँपालिका, मोरङमा १ महानगर, ८ नगर र ८ वटा गाउँपालिका, सुनसरीमा २ उपमहानगर, ४ नगर र ६ गाउँपालिका, धनकुटामा ३ नगरपालिका र ४ गाउँपालिका छन् ।

त्यस्तै तेह्रथुममा २ नगरपालिका र ४ गाउँपालिका, संखुवासभामा ५ नगर र ५ गाउँपालिका, भोजपुरमा २ नगर र ७ गाउँपालिका, सोलुखुम्बुमा १ नगरपालिका र ७ गाउँपालिका, ओखलढुंगामा १ नगरपालिका र ७ गाउँपालिका, खोटाङमा २ नगरपालिका र ८ गाउँपालिका तथा उदयपुरमा ४ नगरपालिका र ४ गाउँपालिका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७