गुलाफको आत्मा


२९ आश्विन २०७४, आईतवार
roses 8 hr

चार सय वर्षभन्दा अघ‌ि मुगल बादशाह जहाँगीरको पालादेखि भारतको कन्नौज शहरले आसवन प्रक्रिया अपनाई फूलहरुबाट अत्तर बनाउने काम गर्दै आएको छ।  तर अहिले यो उद्योग संकटमा छ। रासायनिक प्रक्रियाबाट बन्ने अत्तरहरुको लोकप्रियताका कारण पुराना अत्तर डिस्टिलरीहरु बन्द हुने चरणमा छन्। त्यो सँगै य‌ी विशेष सुगन्धहरु पनि सदाका लागि लोप हुनेछन्।

roses 8 hr

अहिले कन्नौज शहर पुग्ने यात्रुले कुनै बेला यो शहरको प्रमुख उद्योगका रुपमा रहेको अत्तर उत्पादन व्यवसायलाई सजिलै ठम्याउन पनि सक्दैन। तर मोटरकार, लरी र सडक व्यवसायीहरुको भीडमा यदाकदा फूलका टोकरीहरुले भरिभराउ गाडा पुरानो शहरको ठूलो ढोका भएर ढुंगा छापिएका गल्लीहरुमा जाने गर्छ।

roses 21
कन्नौज, उत्तर प्रदेश, भारत 

कन्नौज, उत्तर प्रदेश, भारत

बीस वर्षअघि कन्नौजमा आसवन प्रक्रियाबाट अत्तर बनाउने ७०० वटा कारखानाहरु थिए। हाल १०० वटा जति मात्र बाँकी छन्। ती कारखानाहरुले गुलाफ, चमेली र मेहंदी जस्ता फूलको प्रयोग गरी आसवन प्रक्रियाबाट तेलमा आधारित अत्तर उत्पादन गर्ने गर्दथे।

roses 41 mr

त्यस्ता अत्तरहरुको विशेषता भनेको तिनीहरुको बास्नाको गहनता नै हो र ती अत्तर तयार पार्न लाग्ने समय र सामाग्री पनि। एक किलो गुलाफको अत्तर बनाउन चार टन गुलाफको फूल आवश्यक पर्दछ।

दमस्क प्रजातिको गुलाफको फूललाई तिनका काँडादार बोटबाट सूर्योदय हुनुअघि नै टिपेर त्यही दिन अत्तर कारखानाहरुमा पठाइन्छ।

त्यसपछि ती फूललाई केही चिसो पानीका साथ देग भनिने तामाबाट बनेका ठूला भाँडाहरुमा हालिन्छ। भाँडामुनि दाउरा र गुइँठा बालेर आगोको भुंग्रो तयार पारिएपछि चारदेखि छ घण्टासम्म फूललाई उमालिन्छ।

त्यसरी निस्कने तातो पानीको बाफले फूलबाट सुगन्धित तेल निकाल्छ। देगमा जोडिएको बाँसको नली भएर अर्को भाँडोमा जाने त्यस्तो बाफ चिसिएपछि त्यो भाँडामा फूलको तेल जम्मा हुन्छ।

यसरी अत्तर बनाउने शिल्पीको काम जटिल प्रकृतिको हुन्छ। देग धेरै तातो भयो भने अत्तरमा डढेको गन्ध आउन सक्छ। त्यसैले कतिबेरसम्म देगलाई तताइराख्‍ने भन्ने निर्णय गर्नु अति महत्त्वपूर्ण काम हो। यस्तो आकलन गर्ने सिप पुस्तैनी रुपमा बाबुबाट छोरामा हस्तान्तरण हुँदै आएको छ।

roses 20 mr kpcrodw
roses 22 mr ks3rhvu

तर मुन्नालाल एण्ड सन्स् डिस्टिलरीका युवा व्यवस्थापक वैभव पाठकका अनुसार अत्तरको माग अहिले घट्दो छ।

अत्तर मूल्यको दृष्टिले सस्तो उत्पादन होइन। अत्तर बनाउन धेरै खर्च लाग्छ र निकै थोरै मान्छेमात्र यो कुरा बुझ्छन्। यसको महत्त्वको कदर गर्नेहरु त झन् थोरै छन्। ”

अत्तरको मूल्य चर्को हुनुको एउटा कारण चन्दनको काठ दुर्लभ हुँदै जानु पनि हो। चन्दनको तेल मात्रैलाई पनि अत्तरको रुपमा प्रयोग गर्न सकिन्छ तर परम्परागत रुपमा अत्तर बनाउँदा देगसँगै जोडिएको बाँसको नली भएर आउने गुलाफको तेललाई चन्दनको तेलसँग मिसाउने गरिन्छ।

वन विनाशका कारण भारत सरकारले चन्दनको रुख काट्न प्रतिबन्ध लगाएको छ र पाठक भन्छन्, “चन्दनको काठ अब किन्नै नसकिने गरी महँगो भएको छ।”

हाल मुन्नालाल एण्ड सन्स् अत्तर उत्पादक कम्पनीले आफ्ना अधिकांश प्रतिद्वन्द्वीले जस्तै अत्तर बनाउन प्याराफिन नामक रसायनमा आधारित सस्तो पदार्थको प्रयोग गर्ने गर्छन्। तर त्यस्तो तरल पदार्थले अत्तरको बास्ना नै बेग्लै बनाइदिन्छ। चन्दनको तेलबाट बनेको अत्तर लगाउने पारखीहरुले त्यस्ता नयाँ खाले अत्तर पन पराउँदैनन्।

रुह अल गुलाब अर्थात् गुलाफको आत्मा नाम गरेको विशेष प्रकारको अत्तरको बजार त झनै सानो छ।

यो अत्तर गुलाफको तेललाई बारम्बार आसवन वा डिस्टिल गरी गाढा पारेर तयार गरिन्छ। यो अत्तरमा गुलाफको शुद्ध तेल मात्र हुन्छ अरु केही पनि मिसाइएको हुँदैन।

सम्राट जहाँगीर (१५६९-१६२७) ले आफ्नो आत्मकथा, तुजुकी जहाँगीरीमा लेखेका छन्, “गुलाफको आत्माको उत्कृष्टतासँग दाँज्न मिल्ने अर्को बास्ना दुनियाँमा छैन।…..त्यसले मन हल्का बनाउँछ र आत्मालाई नै तरोताजा तुल्याइदिन्छ।”

Painting of Jahangir

Painting of Jahangir

एक किलो ‘रुह अल गुलाब’ तयार पार्न सामान्यभन्दा झण्डै दोब्बर मात्रामा गुलाफको फूल आवश्यक पर्दछ- आठ टन जति। मुन्नालाल एण्ड सन्स् कहाँ त्यस्तो एक किलो अत्तरको थोक मूल्य १८ हजार डलर वा झण्डै १८ लाख नेपाली रुपैयाँ पर्छ।

roses 12 n8gq5d3 mr pnv7prp

भारतमा अझै पनि केही धनाढ्य ग्राहकहरु छन् जसले प्राकृतिक फूलबाट बनेका अत्तर र रुह अल गुलाब किन्ने गर्छन्। तर कन्नौज शहरको सबैभन्दा ठूलो आन्तरिक बजार भने सुर्ती जर्दा उद्योग बन्न पुगेको छ।
गुलाफको शु्द्ध तेल सिधै पनि खान सकिने उत्पादन हो र त्यसको थोरै मात्रा पनि सुर्तीको ठूलै थुप्रोलाई सुगन्धित तुल्याउन पर्याप्त हुन्छ।

भारतबाहिर अत्तरको ठूलो बजार मध्यपूर्वका देशहरु हुन् जहाँ देगमा फूल उमालेर बनाइएका अत्तरहरुलाई निकै पहिलेदेखि नै ठूलो महत्त्व दिने गरिन्छ। त्यहाँ यस्ता अत्तर किनेर प्रयोग गर्न सक्ने आर्थिक क्षमता भएका ग्राहकहरु पनि रहेका छन्।

सन् २०१४ मा साउदी अरेबियामा अत्तरको व्यापारको आकार १.४ अर्ब डलर रहेको बताइन्छ। एकजना औसत साउदी पारखीले एक महिनामा अत्तरमा मात्र सातसय डलर खर्च गर्ने गरेको अनुमान छ।

roses 11 mr

“अत्तरको बास्नाले मलाई गुलाफको बगैंचामा टहलिएको जस्तो वा ताजा फूलको गुच्छा नजिकै बसेको जस्तो अनुभव गराउँछ”, रुह अल गुलाबको बयान गर्दै कुवेतकी महिला हुस्साह अल-तामिमि भन्छिन्। “त्यो एकदमै चर्को पनि हुनु हुँदैन र त्यसको बास्ना एकदमै प्राकृतिक हुनुपर्छ।”

पूर्ण रुपमा प्राकृतिक भएकाले पनि भारत र मध्यपूर्वमा मुस्लिमहरुले अत्तरलाई महत्त्व दिन्छन्। त्यस्ता अत्तर अल्कोहलमा नमिसाइ सिधै जीउमा लगाउन सकिन्छ। यस दृष्टिले पनि फूलबाट बन्ने अत्तरहरु रसायनबाट बनाइएका र स्प्रे गरेर लगाइने आधुनिक ‘सेन्ट’ भन्दा भिन्न हुन्।

अत्तर जति पुरानो हुन्छ खाडी क्षेत्रमा त्यसको मूल्य झन् बढी हुन्छ। त्यही भएर पुरानो समयदेखि नै त्यहाँ विवाहका बेला नवदुलहीलाई बास्नादार धूप र सुनका साथै अत्तर पनि कन्तुरमा हालेर उपहार दिने चलन रहेको छ।

अर्की ३१ वर्षीया कुवेती महिला दलाल अल साने भन्छिन्, “जब मेरा बुवाले मेरी आमासँग विवाह गर्ने विचार गर्नु भयो उहाँले बिहेको कुरा चलाउनका लागि उपहार दिने सर्वोत्तम अत्तर किन्न स्वयं भारतको यात्रा गर्नुभएको थियो।” उनी भन्छिन्, “त्यसबेलाका केही अत्तर अझै पनि मेरी आमासँग छ। आफ्ना छोरीहरुको बिहेमा दिनुपर्छ भनेर उहाँले त्यसलाई साँचेर राख्‍नुभएको छ।”

पुरुषहरुले पनि अत्तर लगाउँछन्। वास्तावमा खाडी क्षेत्रमा गुलाफको अत्तर परापूर्वकाल देखि नै पुरुषले प्रयोग गर्ने बास्नाका रुपमा प्रचलित थियो। महिलाहरुले पनि त्यसको प्रयोग गर्न थालेका धेरै समय भएको छैन।

अल साने भन्छिन्, “मेरो बुवाले घरमा पाहुनालाई स्वागत गर्नुअघि हातमा गुलाफको अत्तर लगाउनुहुन्छ – बुढी औंला र चोर औंलाको बीचमा। त्यसो हुनाले उहाँसँग हात मिलाउनेहरुको हात पनि लामो समयसम्म बास्नादार रहिरहन्छ।”

शताब्दीऔं देखि अरब व्यापारीहरुले मसला र अत्तरसँग साटेर बास्ना आउने धूपको कारोबार गर्ने गर्दथे तर पछिल्लो पटक सन् १९०० को आरम्भतिर कुवेतमा त्यस्तो व्यापार निकै फस्टाएको थियो।

सन् १९२५ मा कुवेत सिटीको स्थानीय बजार सुकमा सुलेमान अल मरशुदले अत्तरमात्र बेच्ने पहिलो पसल अत्येब अल मरशुदको स्थापना गरेका थिए। उनी धाउ भनिने डुंगा चढेर आफ्ना बुबासँग नियमित रुपमा भारतको यात्रा गर्ने गर्दथे। अब त्यो पसल सुलेमानका छोरा वालीदले चलाउँछन्। उनले भारतका अत्तर उत्पादकहरुसँग आफ्ना हजुरबुवाले स्थापना गरेका सम्बन्धलाई निरन्तरता दिइरहेका छन्।

आजकाल कुवेतका सुकहरुमा अत्तर पसलहरु छ्यापछ्याप्ती छन्। बल्गेरिया र टर्कीबाट ल्याइएका गुलाफका अत्तरहरुले ठूलो महत्त्व पाएका छन्। तर कन्नौजमा बनेको रुह अल गुलाब को महत्त्व बेजोड नै छ। अत्येब अल मरशूद पसलमा त्यो अत्तर एक तोलाको झण्डै दुईसय कुवेती दिनार वा ६५० अमेरिकी डलर पर्छ।

दुबईको अत्तर पसल 

दुबईको अत्तर पसल

उच्चतम शुद्धता भएको अपेक्षा गरिने विलासी वस्तुका रुपमा प्रतिष्ठित त्यो अत्तरका इच्छुक र पारखी ग्राहकहरु कायमै छन्।

वालीद अल मरशूद भन्छन्, “जुन अत्तर बनाउन जति गाह्रो हुन्छ, त्यस्तो अत्तर त्यति नै बढी मूल्यवान हुन्छ।”

कन्नौजले कतिञ्जेलसम्म परम्परागत अत्तर र रुह अल गुलाब उत्पादन गर्न सकिरहन्छ त्यो स्पष्ट छैन।

“देगमा उमालेर बनाइने अत्तरहरुको माग हाल छँदै छैन भने पनि हुन्छ”, भन्छन् पुष्पराज जैन। उनी एउटा अत्तर कारखाना प्रागमति अरोमा डिस्टिलरीका मालिक हुन्।

“आजको पुस्ता आधुनिक अत्तरमा रुचि राख्छन् र उनीहरुको मागलाई ध्यानमा राखेर नै मैले आफ्नो व्यापार व्यवसायमा पनि परिवर्तन गर्नुपरेको छ।”

roses 50 ft06b3l mr ndokb9c

उनको डिस्टिलरीमा देगमा पनि अत्तरहरु बन्छन्, ती सँगसँगै उनले आधुनिक अत्तर बनाउने नयाँ खाले यन्त्र पनि राखेका छन्। कन्नौजमा अत्तरको भविष्यलाई लिएर विद्यमान असहजता व्यापक रुपमा देख्न सकिन्छ।

मुन्नालाल एण्ड सन्सका एकजना अत्तरशिल्पी उस्मानलाई आफूले तयार पार्ने उत्पादनको गुणस्तरको उत्कृष्टतामा कुनै शंका छैन।

“कृत्रिम रुपमा तयार पारिने अत्तर र प्राकृतिक अत्तरबीचको फरक भनेको माइक्रोवेभ ओभनमा पकाएको खानेकुरा र दाउराको चुलोमा पकाएको खानेकुराबीचको भिन्नता जस्तै हो,” उनी भन्छन्।

तर उनलाई के डर छ भने उनी काम गर्ने उद्योग विस्तारै मर्दैछ। उनले आफ्ना छोराछोरीलाई अरु नै पेशा अपनाउन मनाएका छन्। अरु पेशाबाट आफूले पाएको भन्दा बढी आम्दानी होस् र छोराछोरीको जीवन सहज होस् भन्ने उनी चाहन्छन्।

-बिबिसबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७