अरबौं मूल्य पर्ने हदबन्दीको जग्गा फुकुवा गर्न भूमाफिया सक्रिय


१२ चैत्र २०७४, सोमबार
agriclutre copy 1 1

झापा, १२ चैत । गिरीबन्धु टी स्टेटको विर्तामोडस्थित हदबन्दी लागेको २ सय ८० बिघा जग्गा फुकुवा गर्ने चलखेल फेरि सुरु भएको छ ।agriclutre copy 1 1

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै छत्रबहादुर गिरीहरु विर्तामोडको उक्त हदबन्दी लागेको जग्गा फुकुवा गरी पृथ्वीनगरको सस्तो जग्गा सट्टाभर्ना गर्न लागेका थिए । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी भएकाले भूमिसुधार तथा ब्यवस्था मन्त्रालयका कर्मचारीले नमानेपछि उनीहरु अख्तियारतिर लागेका थिए ।
कुनै बेला झापाको मालपोत कार्यालयको प्रमुख हुँदादेखि चिनजान भएका र नाताले छत्रबहादुर गिरीका सम्धी दीप बस्नेतले गिरीबन्धु टी स्टेटको हदबन्दीको जग्गा फुकुवा गर्न लागेको उजुरी तामेलीमा राख्नका लागि धेरै प्रयास गरेका थिए । तर अरु आयुक्तहरुले अरबौं मूल्यको जग्गा हदबन्दी फुकुवा गर्न नहुने अडानका कारण उनको मनसुवा पूरा हुन सकेको थिएन । पदबाट जाने बेलामा २०७४ माघ अन्तिममा पनि उनले गिरीबन्धुको जग्गाको उजुरी तामेलीमा राख्न भगिरथ प्रयत्न गरेका थिए ।
भूमिसुधार मन्त्रालयका एक अधिकारीका अनुसार अख्तियारमा बस्नेतमार्फत् उजुरी तामेलीमा राखिसकेकाले हुनुपर्छ, गिरीहरु उक्त जग्गा फुकुवा गर्न पुनः तम्सिएका छन्, आजको साँघुमा समाचार छ । उनीहरुले विवादित बी एण्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईमार्फत् माओवादी अध्यक्ष प्रचण्ड र कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेवलाई पनि भेटिसकेको समाचार छ । प्रसाईले एमाले माओवादी पार्टी एकता गराउने भूमिका खेलेको र उनकै घरमा ओली र प्रचण्डले खाना खाएकाले उनी पछिल्लो समयमा शक्तिका निकै नजिक मानिन्छन् । गिरीबन्धु टी स्टेटका छत्र गिरीहरुले झापाका तिनै मेडिकल माफिया दुर्गा प्रसाईलाई हदबन्दी फुकुवा गर्न प्रयोग गरेका छन् । प्रसाई छत्रबहादुर गिरीकोमा पहिला काम गर्ने गर्दथे । र, उनले गिरी खलकमै विवाह समेत गरेकाले उनलाई परिचालन गरी अरबौं मूल्यको हदबन्दी लागेको जग्गा फुकुवाको चलखेल भइरहेको छ । यसमा कृषि तथा भूमि ब्यवस्था मन्त्री खनाललाई आकर्षक करोडौं रुपैयाँ घुसको लोभ देखाइसकेको स्रोतले बताएको छ । विर्तामोडको हदबन्दी लागेको जग्गा फुकुवा गरी झापाकै पृथ्वीनगरको सस्तो जग्गा सट्टाभर्ना राख्ने गरी मिलाउन दुर्गा प्रसाई सक्रिय रुपमा लागेका छन् ।
साँघुले बिर्तामोडको उक्त जग्गा हदबन्दी फुकुवा गर्न भएको चलखेलको निरन्तर समाचार प्रकाशन गर्दैआएको छ । शेरबहादुर देउवाले जाने बेलामा फुकुवा गर्न खोजेको समाचार सार्वजनिक भएको थियो ।
बिर्तामोडको प्रतिकट्ठा ७० लाख रुपैयाँ पर्ने जग्गाको साटो पृथ्वीनगरको बिघाको १० लाख पर्ने जग्गा हदबन्दी लगाउनेगरी मन्त्रिपरिषदबाट पास गराउन गिरीबन्धु टी स्टेटले मन्त्री खनाललाई मोटो रकम घुसको प्रस्ताव गरेको छ । बिर्तामोडको मूल्यवान जग्गा फुकुवा गरी घडेरीको रूपमा अरबौं रुपैयाँ कमाउनका लागि भूमाफियाको समूह पटक पटक यो जग्गा फुकुवा गर्ने प्रयास गर्दैआएको छ ।
यस हिसाबले २८० बिघाको २ अरब ८० करोड रुपैयाँ नै पर्न जान्छ । तर पृथ्वीनगरको प्रतिबिघा १० लाख पर्ने २८० बिघा जग्गा किनेर सरकारलाई दिएर बिर्तामोडको जग्गाको हदबन्दी फुकुवा गर्न गिरीहरुको प्रयास अहिले घनीभूत भएको छ ।
२०२१ सालमा भूमिसुधार लागू हुँदा हदबन्दी लागेको छत्रबहादुर गिरीहरूको जग्गा चिया उद्योगको प्रयोजनका लागि सरकारले दिएको थियो । तर अहिले तीव्र शहरीकरणका कारण बिर्तामोडको जग्गाको मूल्य बढेका छ । बिर्तामोडमा टाउन प्लानिङ गरी अरबौं रुपैयाँ कमाउन सकिने देखेर गिरीबन्धु टी स्टेटका संचालकहरु हदबन्दी फुकुवा गराउन दुर्गा प्रसाईमार्फत् दौडधुप गर्दैआएका छन् ।
यसअघि दलबहादुर राना, रामकुमार सुब्बा, विक्रम पाण्डे मन्त्री हुँदा पनि हदबन्दीको जग्गा फुकुवा गर्न भूमाफियाले चलखेल गरेका थिए । तर तत्कालीन भूमिसुधार मन्त्रालयका सचिव लोकदर्शन रेग्मी (हाल मुख्यसचिव)ले यो जग्गा फुकुवा गरे धेरै नराम्रो नजिर बस्न सक्नेतर्फ सतर्क गराएपछि हुन सकेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७