राष्ट्रपति बाइडेनद्वारा रुसको ऊर्जा ब्लयाकमेलबाट नआत्तिन आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार वासिङ्टनले रुसलाई प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न नदिने बताएका छन् ।
रुबलमा ग्यास तिर्न अस्वीकार गरेपछि रुसको ऊर्जा कम्पनी ग्याजप्रोमले बुधबार पोल्याण्ड र बुल्गेरियालाई प्राकृतिक ग्यास आपूर्ति कटौती गरेपछि वासिङ्टनको यो टिप्पणी बाहिर आएको हो । ‘हिजो रुसले हाम्रा दुई सहयोगीहरूलाई ऊर्जा आपूर्ति बन्द गर्ने धम्की दियो । मलाई स्पष्ट पार्न दिनुहोन् हामी रूसलाई जारी प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न दिने छैनौं’, राष्ट्रपति बाइडेनले ट्वीटमा उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपतिले वाशिंगटनले ‘रूसबाट ग्यास ब्ल्याकमेलको धम्की दिएका युरोपेली सहयोगीहरूलाई मद्दत गर्न अन्य राष्ट्रहरूसँग काम गरिरहेको छ’, उनले भनेका छन् । ‘हामी अन्य राष्ट्रहरूसँग काम गर्दैछौं-जस्तै दक्षिण कोरिया, जापान र कतार । जसले ग्यास ब्ल्याकमेलबाट रूसले धम्की दिएका हाम्रा युरोपेली सहयोगीहरूलाई उनीहरूको ऊर्जा आवश्यकताहरू अन्य तरिकावाट पूरा गर्न मद्दत गर्ने हाम्रो प्रयास रहन्छ’, ट्वीटमा थप भनिएको छ ।
मार्च ३१ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अमित्र’ देशहरूमा दर्ता भएका कम्पनीहरूसँग ग्यास आपूर्तिको लागि सबै सम्झौताहरू रूबलमा गर्ने गरी एक आदेशमा हस्ताक्षर गरेका थिए । मिडिया रिपोर्टहरूले जनाएअनुसार केही युरोपेली ग्यास खरीदकर्ताहरूले रूसले माग गरेअनुसार रुबलमा आपूर्तिको लागि भुक्तान गरिसकेका छन् ।
बुधवार, युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनका अनुसार रूसी ऊर्जा प्रदायक ग्याजप्रोमको बुल्गेरिया र पोल्याण्डलाई ग्यास आपूर्ति निलम्बन गर्ने निणर्य ब्ल्याकमेलको अर्को प्रयास हो । ‘ग्याजप्रोमले एकतर्फी रूपमा युरोपका ग्राहकहरूलाई ग्यासको आपूर्ति रोक्ने घोषणा गर्नु भनेको ब्ल्याकमेलको साधनको रूपमा ग्यास प्रयोग गर्ने अर्को प्रयास हो । यो अनुचित हो र अस्वीकार्य छ । यसले एक पटक फेरि ग्यास आपूर्तिकर्ताको रूपमा रूसको अविश्वसनीयता देखाउँदछ’, भोन डेर लेयनले एक विज्ञप्तिमा भनेका छन् ।