भरपुरमा कांग्रेसका बागी जगन्नाथ पौडेलले फिर्ता लिएनन् उम्मेदवारी

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायम भएको छ । पार्टीका केन्द्रीय नेताले उम्मेदवारी फिर्ता लिन लगाउन निकै प्रयास गरेको भए पनि फिर्ता लिने अन्तिम समय आज साँझ ५ बजेसम्म उनको उम्मेदवारी फिर्ता नभएको हो ।
उम्मेदवारी फिर्ता नलिन दबाब दिंदै पौडेल निवासमा बिहानैदेखि नेता-कार्यकर्ताको भीड लागेको थियो । पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता रेनु दाहाल भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवार छिन् । गठबन्धनभित्रकै कांग्रेसका नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि फिर्ता गराउन प्रयास गरिएको थियो ।
पौडेलले आफ्नो उम्मेदवारी रुख तथा चारतारे झण्डा विरुद्ध नभएर लोकतान्त्रिक पद्धतिको प्रयोग र प्रवद्र्धनमा केन्द्रीत रहेकाले फिर्ता नलिएको बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता नभएको बताए ।
पौडेललाई उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले टेलिफोनमा आग्रह गरेका थिए । देउवाले कांग्रेसका नेता बालकृष्ण खाँण र केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई जिल्ला पठाएका थिए । पौडेलका अनुसार उनलाई गठबन्धनमध्येको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेता समेतले उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका थिए ।
यसअघि पनि भरतपुरमा प्रमुखमा दाहाल रहेकाले यस पटक नेपाली कांग्रेसलाई प्रमुख दिनुपर्ने पौडेलको माग थियो । नेकपा (एमाले) का तर्फबाट महानगरमा विजय सुवेदी प्रमुख पदमा उम्मेदवार छन् । पौडेलले उम्मेदवारी दिंदा नेपाली कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मीना खरेल समर्थक रहेका छन् । पौडेल विसं २०४९ सालको स्थानीय चुनावमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । वरिष्ठ अधिवक्ता पौडेल राष्ट्रियसभाको सदस्य भइसकेका छन् ।