धनुषामा १०९, म्याग्दीमा ४११ र चन्द्रागिरिमा ३३ जनाको उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका वैधनाथ साह र नन्दकुमार भगत, उपप्रमुखमा उम्मेदवारी दिएका विश्वनाथ साहले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाको वडाध्यक्ष पदमा ११, एक वडासदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । यस्तै धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुख पदमा उम्मेदवारी दिएका हरिनारायण महतो र चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिएका छन् ।
सो नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष पदका लागि दिएका पाँच र वडासदस्य पदका चार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिए । धनुषाधाम नगरपालिकामा एक उपप्रमुखको उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चिरन्जीवी गौतमले जानकारी दिए ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी मेनकाकुमारी सिंह र वडाध्यक्षका दुई तथा सदस्यका चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । धनुषाको बटेश्वर गाउँपालिकाको गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका खगेन्द्रबहादुर कटुवाल र वडाध्यक्षका एक तथा दलित महिला सदस्यका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।
धनौजी गाउँपालिकामा समेत अध्यक्ष पदका उम्मेदवार लक्ष्मण मण्डल तथा दुईजना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । विदेह नगरपालिकामा दुई वडाध्यक्ष पदका उम्मेदवारसहित पाँच, हंसपुर नगरपालिकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सबैला नगरपालिकामा छ वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत वासुदेव पाण्डेले जानकारी दिए । धनुषामा एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी कूल १८ स्थानीय तह रहेको छ ।
म्याग्दीमा ४१ जनाले उम्मेदवारी फिर्ता लिए
आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता गरेका छन् । म्याग्दीका छवटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता गराएकामध्ये विभिन्न पदका ४१ ले फिर्ता लिएका जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।
उनका अनुसार जिल्लाभर कूल उम्मेदवारको संख्या ७१८ जना कायम भएको छ । अध्यक्ष/प्रमुखमा तीन, उपाध्यक्ष/उपप्रमुखमा पाँच, वडा अध्यक्षमा ११, महिला सदस्यमा पाँच, दलित महिला सदस्यमा चार र खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी फिर्ता भएको कार्यालयले जनाएको छ ।
बेनी नगरपालिकामा २३, धौलागिरि गाउँपालिकामा पाँच, मङ्गला गाउँपालिकामा सात र रघुगङ्गा गाउँपालिकामा छ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् । अन्नपूणर् र मालिका गाउँपालिकामा कसैले पनि उम्मेदवारी फिर्ता गरेनन् । जिल्लाभर पालिका अध्यक्ष/प्रमुखमा २९, उपाध्यक्ष/उपप्रमुखमा २३, वडाध्यक्षमा १४९, सदस्यमा २७५, महिला सदस्यमा १२५ र दलित महिला सदस्यमा ११७ जनाको उम्मेदवारी कायम भएको छ ।
धौलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जाको वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यसैगरी बेनी नगरपालिकामा माओवादीले नगर प्रमुख र कांग्रेसले उपप्रमुखको उम्मेदवारी फिर्ता गरेर चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले धवलागिरी गाउँपालिकाबाहेक सबै स्थानीय तहमा दर्ता गराएको उम्मेदवारी फिर्ता गरेको छ ।
बेनीको मेयरको उम्मेदवारबाट माओवादीका धनलाल जैसी र नेकपा एकीकृत समाजवादीका कृष्णकुमार विश्वकर्माले मनोनयन फिर्ता गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसका अमृतदेवी बानिया र नेकपा एकीकृत समाजवादीकी मुना बानियाले फिर्ता गरेकी हुन् । मङ्गलामा एकीकृत समाजवादीका अध्यक्षका रुद्र किसान, उपाध्यक्षका कल्पना सापकोटा, नेशनल मङ्गोल अर्गनाजेशनका उपाध्यक्षकी भूमि पुन, बेनपा ८ को वडाध्यक्षमा राप्रपाका झलप्रसाद गौचन, बेनपा ७ मा स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठलगायतले मनोनयन फिर्ता लिएका छन् ।
चन्द्रागिरिमा ३३ उम्मेदवारको मनोनयन फिर्ता
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाडौं प्रवेशद्धारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् ।
चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले एक प्रमुख र दुई उपप्रमुखसहित ३३ जनाले मनोनयन फिर्ता लिएको जानकारी दिए । उनका अनुसार मनोनयन फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र) बाट नगरपालिका प्रमुखका उम्मेदवार दिलबहादुर श्रेष्ठ, माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार रुपा महर्जन र कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार यमुनादेवी श्रेष्ठ रहेका छन् ।
यस्तै, बाँकी ३० वडाध्यक्ष तथा वडासदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत थपलियाले जानकारी दिए । चन्द्रागिरि नगरपालिकामा २१ प्रमुख र १० उपप्रमुखसहित ३८७ जनाको उम्मेदवारी परेको थियो । अब चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जना प्रतिस्पर्धामा छन् । काठमाडौं जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा रहेका छन् ।