गुल्मीमा चुनावी गठबन्धन तोडिएपछि कांग्रेससँग माओवादी आक्रोशित

‘गठबन्धनको नाममा गुल्मी कांग्रेसले माओवादी सिध्याउने षड्यन्त्र गर्‍यो’


१७ बैशाख २०७९, शनिबार
manoj

गुल्मी । गुल्मीमा पाँच दलीय गठबन्धन तोडिएकोमा नेकपा (माओवादी केन्द्र) का नेताहरू नेपाली कांग्रेसका नेताहरूसँग आक्रोशित भएका छन् । शनिबार माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) ले पत्रकार सम्मेलन गर्दै गुल्मी कांग्रेसले देशभर पवित्र गठबन्धन हुँदाहुँदै दम्भ बोकेर माओवादीलाई ब्ल्याकमेलिङ गरेको जनाएको छ ।

माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) का इन्चार्ज अशोक थापाले जिल्लामा कांग्रेसको इमान्दारिता नदेखिएको भन्दै कार्यकर्तालाई मेयर र उममेयरमा स्वतन्त्रतापूर्वक मतदान गर्न आग्रह गरे । कांग्रेसको अहंकारको परिणाम जेठ १ र २ गते देखिने बताउँदै उनले राजनीतिक बेइमानी र अनुशासनहीनताले आफूहरूलाई धोका भएको बताए ।

गुल्मी निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) अन्तर्गत छत्रकोटमा आंशिक गठबन्धन भएको छ । त्यस बाहेक रेसुंगा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा माओवादीसँग कांग्रेसले गठबन्धन गरेको छैन । त्यस्तै, इस्मा गाउँपालिकामा पनि कांग्रेस-माओवादी गठबन्धन भएको छैन । थालाले रेसुंगा नगरपालिकामा दर्ता गरेको उपमेयरको मनोनयन फिर्ता लिएका छन् । पार्टीले मनोनयन गर्न भनेपछि दिएको र फिर्ता मागेपछि फिर्ता गरेको उल्लेख गर्दै थापाले पार्टी नेतृत्वको पनि स्पष्ट धारणा र भूमिका नभएका कारण आफूहरू अहिलेको अवस्थामा आएको गुनासो गरे ।

रेसुंगा नगरपालिकाका माओवादी केन्द्रबाट वडा नम्बर ६ मा वडाध्यक्षमा गोपाल मरासिनी, वडा नम्बर १२ मा गिरिप्रसाद महाकिम र वडा नम्बर १४ शेरबहादुर मल्लसहित २२ जना उम्मेदवार रहेका छन् । पाँच दलीय गठबन्धनको नाममा नेपाली कांग्रेस गुल्मीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई सिध्याउने खेल खेलेको लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को (ख) का इञ्र्चाज अशोक थापाले बताएका छन् ।

आज (शनिबार) तम्घासमा पत्रकार सम्मेलन गरी गठबन्धनबाट माओवादी केन्द्रलाई केही स्थानीय तह दिने सहमति भए पनि कांग्रेस पार्टीका केहि नेताको भनाई र गराई फरक भएको थापाले आरोप लगाएका छन् ।

केहि समय अघिदेखि गठबन्धन र माओवादी केन्द्रबीच बैठक र समीक्षा हुँदै आए पनि कांग्रेसको दबावमा सिङ्गो पार्टी र नेतालाई नै लचिलो हुनुपरेको उनले आरोप लगाए । कांग्रेसले षड्यन्त्रपूर्वक माओवादी केन्द्र गुल्मीलाई सिध्याउने खेल रचेपछि आफूले रेसुङ्गा नगरपालिमा उप-मेयर पदमा दिएको उम्मेदवारी समेत फिर्ता लिएको थापाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७