एमालेले निर्वाचन जित्नै पर्छ, उम्मेदवारको विषयमा पछि समीक्षा गरौंला : ईश्वर पोखरेल
‘माधव-प्रचण्ड कि कांग्रेस प्रवेश गर्नुस्, नभए राजनीतिबाट सन्यास लिनुहोस्’

पोखरा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी स्थानीय निर्वाचन एमालेले जित्नै पर्ने बताएका छन् । एमाले पोखरा महानगर निर्वाचन परिचालन कमिटीले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा घोषणा-पत्र सार्वजनिक कार्यक्रममा पोखरेलले सामान्य निर्वाचनको रुपमा मात्र नलिन आग्रह गरेका हुन् ।
‘यो निर्वाचन सामान्य निर्वाचन होइन । यो लडाइँ हो,’ उनले भने, ‘यो लडाइँको नेतृत्व एकातिर एमाले र अर्कोतिर गठबन्धनकारी शक्ति खडा भएका छन् । यो लडाइँ एमालेले जित्नु पर्छ ।’ एमालेले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको वकालत गर्ने भएकाले चुनाव जित्नुपर्ने उनको दाबी छ ।
एमालेका उम्मेदवारका विषयमा समीक्षा हुन सक्ने भन्दै उनले निर्वाचन सकिएपछि छलफल हुन सक्ने बताए ।
उनले गठबन्धन गर्दा देशभर माधव नेपालको पार्टी (एकीकृत समाजवादी) ले १०/१५ प्रतिशत सिट पनि नपाएको र माओवादीको हालत पनि उस्तै रहेको टिप्पणी गरे । उनले भने, ‘माधव नेपाल र पुष्पकमल दाहाललाई म सुझाव दिन चाहन्छु, कि कांग्रेस प्रवेश गर्नु नभए राजनीतिबाट सन्यास लिनुहोस् । यहाँभन्दा अर्को विकल्प तपाईहरू सामु छैन ।’
पोखरेलले प्रचण्डमा दोधारे प्रवृत्ति देखाएको टिप्पणी पनि गरे । माओवादी केन्द्रले घोषणापत्र समेत जारी गर्न नसकेको भन्दै उनले राष्ट्रिय राजनीतिलाई अलमल्याउने काम नगर्न आग्रह गरे । कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विगतका मनमुटाव बिर्सेर एकतावद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।