‘श्रमिकका समस्याको दीर्घकालीन समाधान सबैको साझा दायित्व’


१८ बैशाख २०७९, आईतवार
bishwa prakash

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका समस्याको दीर्घकालीन समाधान सम्पूर्ण राजनीतिक दलको साझा दायित्व भएको बताएका छन् ।

१३३आंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज आयोजना गरेको श्रमिक सभालाई सम्बोधन गर्दै उनले रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धनमा ध्यान दिन स्थानीय तहका प्रमुखलाई आग्रह गरे ।
‘भ्रष्टाचार नियन्त्रण, रोजगारीको अवसर सिर्जना तथा उद्यमशीलता विकास स्थानीय तहका प्रमुखका साझा दायित्व हुन्’, उनले भने । समुन्नत नेपाल निर्माणमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले श्रमिकका योगदानलाई राज्यले उच्च मूल्याङ्ककन गरिनुपर्ने बताए ।

महामन्त्री शर्माले मुलुकको सबल अर्थतन्त्र निर्माण गर्न वैदेशिक रोजगारीमा गएका श्रमिकको महत्वपूर्ण योगदान रहेको भन्दै विदेशमा रहेका युवालाई फर्काएर स्वदेशमै रोजगारीका अवसर प्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमले अपेक्षित रोजगारी सिर्जना गर्न नसकेको उल्लेख गर्दै उनले मर्यादित र दिगो रोजगारी सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका युवा तथा महिलालाई सीपयुक्त तालिम दिएर स्वरोजगार बनाइने प्रतिबद्धता व्यक्त गरे । घरभित्रका कामलाई श्रमको मान्यता नदिने अवस्थाका अन्त्य गरिने उल्लेख गर्दै उनले श्रमको सम्मान गर्ने अवस्थाको सिर्जना गरिने बताए ।

ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष खिलानाथ दाहालले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गराउनुपर्ने, मर्यादित काम, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइनुपर्नेमा जोड दिए । श्रमिकसभा अगाडि श्रमिकहरुले भद्रकाली मन्दिरबाट पदयात्रा निकालेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७