सगरमाथा चढ्न ५८ देशका ३१६ आरोहीलाई अनुमति


१९ बैशाख २०७९, सोमबार
sagarmatha 1

काठमाडौं । यो वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ५८ देशका ३१६ आरोहीले अनुमति लिएका छन् । अमेरिकाबाट मात्रै ६४ आरोहीले सगरमाथा चढ्न अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ ।

शुक्रबारसम्म विभिन्न २५ हिमाल चढ्नका लागि १११ टिमबाट ८९९ जनाले अनुमति लिइसकेका छन् । जसमध्ये महिला १९५ जना छन्  । नेपालको आरोहण इतिहासमै अहिलेसम्मकै धेरै १११ टिमले हिमाल आरोहण गर्न अनुमति लिएको पर्यटन विभागले जनाएको छ । नेपालका हिमालहरू चढ्नका लागि ७४ देशबाट आरोहीहरू अहिले गन्तव्यतिर लागिरहेका छन् ।

सबैभन्दा धेरै सगरमाथा चढ्ने
हिमाल आरोहीको पहिलो रोजाइमा ८,८४८.८६ मिटर अग्लो सगरमाथा परेको छ । सगरमाथा आरोहण गर्न ३९ टिमका ३१६ जनाले अनुमति पाएका छन्, जसमध्ये २४३ पुरुष र ७३ महिला छन् । सगरमाथा चढ्न अमेरिकाबाट ६४, बेलायतबाट ३४, रसियन फेडेरेसनबाट १७, नेपालबाट २१, भारतबाट २३, फ्रान्सबाट १३, जर्मनीबाट ६, अस्ट्रेलियाबाट ११, अस्ट्रियाबाट ११, क्यानडाबाट १७, चीनबाट १४ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । दोस्रो रोजाइमा लोत्से हिमाल परेको छ ।

लोत्से आरोहणका लागि १२ टिमबाट ८७ पुरुष र २५ महिलाले अनुमति पाएका छन् । आमादब्लम हिमाल आरोहण गर्न ९७, कञ्चनजंघा हिमालमा ६८, नुप्त्सेमा ५७, मकालुमा ३९, हिमलुङमा ३५, अन्नपूणर्-१ मा २६, धौलागिरिमा २७ जनाले आरोहण अनुमति पाएको विभागले जनाएको छ ।

यस्तै, अन्नपूर्ण-४ आरोहण गर्न नौ, भेमदाङ रिमा आठ, गंगापूणर्मा दुई, काङचुङमा दुई, मनास्लुमा नौ, मुकोटमा चार, नोर्बु खाङमा पाँच, फु-काङमा पाँच, पोखरखाङमा नौ, पुथा हिउँचुलीमा १४, रत्नचुलीमा नौ, सरिबुङमा १०, सउलामा दुई, थापा पिक (धम्पुस)मा १२ र उर्कनमाङ हिमाल आरोहण गर्न दुईजनाले अनुमति लिएका छन् ।

७४ देशका आरोहीलाई अनुमति
नेपालका २५ हिमाल चढ्न ७४ देशका आरोहीले अनुमति लिएकोमा सबैभन्दा धेरै अमेरिकन रहेका छन् । अमेरिकाबाट मात्रै २७ महिला र एक सय ६ पुरुष गरी एक सय ३३ आरोहीले अनुमति पाएका छन् । यस्तै, बेलायतबाट १४ महिला र ९२ पुरुष गरी एक सय ६ जनाले आरोहण अनुमति पाएका छन् ।

नेपालबाट ६३, स्पेनबाट २५, रसिया फेडेरेसनबाट २८, कोरियाबाट १४, नेदरल्यान्डबाट १४, अस्ट्रेलिया र अस्ट्रियाबाट २९-२९, क्यानडाबाट ३४, चीनबाट २२, फ्रान्सबाट ५६, जर्मनीबाट २७, इन्डियाबाट ६०, इरानबाट १९, जापानबाट १६ जना आरोहीले हिमाल चढ्न अनुमति लिएका छन् ।

अहिले हिमाल आरोहण धमाधम चलिरहेको पर्यटन विभागले जनाएको छ । कोभिडपछि सुस्ताएको पर्वतीय पर्यटन २०२२ मा तंग्रिन खोजेको देखिन्छ । आरोहणका लागि आएका पर्यटकका कारण तारे होटेल र हेलिकोप्टरले राम्रो बिजनेस पाइरहेका छन् । पछिल्लो समय आरोहणका लागि मात्र नभएर ट्रेकिङलगायत गतिविधिमा आउने पर्यटक पनि बढ्दै छन् । अहिले दैनिक दुई हजार हाराहारी विदेशी पर्यटक नेपाल भित्रिरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७